हेटौंडाः राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० को सम्बन्धमा हेटौंडामा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया भएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौंको समन्वय र तथ्यांक कार्यालय मकवानपुरको आयोजनामा मस्यौदा प्रश्नावलीमाथि छलफल भएको हो ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार आर्थिक काम २१ भागमा विभाजन भएकोमा एक होटल व्यवसाय भएको राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौंका निर्देशक राजेश धितालले जानकारी गराउनुभयो । निर्देशक धितालका अनुसार देशको अर्थतन्त्रमा आवास तथा भोजनको सेवाबाट होटल क्षेत्रको भूमिका हुने भएकाले आर्थिक क्रियाकलापलाई व्यवस्थितरुपले सञ्चालन गर्न सर्वेक्षण गर्न लागिएको हो । सर्वेक्षणको विषयमा छलफलको सुरुवात बागमती प्रदेशबाट भएको र अन्य प्रदेशमा पनि छलफल गरिने उहाँको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौंका निर्देशक विनोद आचार्यले होटलमात्र नभई होमस्टे, संघसंस्था (आवास तथा भोजन सेवा उपलब्ध गराउने) सेवाप्रदायक प्रतिष्ठानहरुको पहिलो विस्तृत सर्वेक्षण गर्ने बताउनुभयो । नेपालको अर्थतन्त्रमा आवास तथा भोजनालयको योगदानको मापन गर्ने बताउँदै होटल क्षेत्रको विकास सम्पूर्ण देशको विकाससँग जोडिएकाले सर्वेक्षण गर्न लागिएको जानकारी दिनुभयो । यस्तो सर्वेक्षण यसअघि २०६० सालमा भएको तर उक्त सर्वेक्षणमा सबै होटल व्यवसाय नसमेटिएकाले विस्तृत सर्वेक्षण गर्न लागिएको उहाँको भनाइ छ ।
सामान्य चिया पसलदेखि पाँचतारे होटलसम्मको सर्वेक्षण हुने आचार्यले बताउनुभयो । २०६० सालमा गरेको सर्वेक्षणमा १ दशमलब ९८ प्रतिशत अर्थव्यवस्था होटल व्यवसायले समेटेको पाइएको थियो । पछिल्लो समयमा कतिको परिवर्तन भएको छ भनि सर्वेक्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
छलफलका क्रममा एक होटल व्यवसायीले सर्वेक्षणले सही तथ्यांक नआउन सक्ने बताउँदै एक निकायले अर्को निकायलाई तथ्यांक दिएमा कारबाहीमा पर्नसक्ने डरले सही तथ्यांक नदिन सक्ने धारणा राखेका थिए । सर्वेक्षणको क्रममा संकलन गरिएको तथ्यांक सर्वाेच्च अदालतले माग्दासमेत दिन नपर्ने ऐन भएकाले कुनै निकायलाई यस तथ्यांक नदिने निर्देशक आचार्यले बताउनुभयो । होटलको सम्बोधन गर्नुपर्ने पक्ष के छ भनेर सर्वेक्षण गर्न लागिएको उहाँले जोड दिनुभयो ।