Home कला दिवास्वप्नः पुस्तकमाथि मेरो गिद्दे नजर

दिवास्वप्नः पुस्तकमाथि मेरो गिद्दे नजर

दिवास्वन एक गुजराति लेखकद्वारा लेखिएको र अङ्ग्रेजी तथा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो । उनको वास्तविक नाम भने गिरिजाशङ्कर भगवानजी बधे हो । यस पुस्तकभित्र भने उनी शङ्कर सरले चिरपरिचित छन् । शङ्कर सर नै यस पुस्तकका मुख्य पात्र तथा हिरो हुन् ।

वास्तवमा कथाभित्र पनि उनी शिक्षा डायरेक्टर, जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक तथा विद्यालयका केही शिक्षक तथा विद्यार्थीका नजरमा हिरो भएर चिनिएका छन् । शिक्षण पद्धतिमा परिवर्तन ल्याउन चालेका उनका महत्वपूर्ण कदम तथा उनको गहिरो चिन्तन, शिक्षाप्रतिको लगाव र उनको आफैँप्रतिको आत्मविश्वासकै कारण उनी सबैको नजरमा हिरो बन्न पुगेका छन् । जब लेखकलाई पुरानो पद्धतिको शिक्षामा परिवर्तन ल्याउन नयाँ नयाँ प्रयोग गर्ने एक प्रकारको अनौठो भूत सवार भयो । तब उनी आफैँ जिल्ला शिक्षा अधिकारीकहाँ प्राथमिक तहका विद्यार्थीलाई पढाउने अनुमति पत्र लिन पुगेँ । कल्पना र भावको मिश्रण गरी कविता कथा र साहित्य लेख्नु जति सजिलो काम अध्यापन गराउनु नरहेको मान्यता बोकेका जिल्ला शिक्षा अधिकारी लेखक गिरिजाशङ्करको कुरा सुनेर केही समय विस्मित भएर लेखकतिर हेर्छन् र प्राथमिक तहका केटाकेटीलाई अध्यापन गराउने कुरा चानचुने नरहेको हुँदा उनले स्पष्ट लवजमा तपाईँ नपढाउनुहोस् भन्ने अग्रह गर्छन् तर बालशिक्षामा नयाँ प्रयोग गरेर शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने दृढ् सङ्कलप बोकेका लेखक गिरिजाशङ्करले पनि हार मान्दैनन उनी पढाउने अनुमति जसरी पनि चाहियो भनेर निरन्तर जिद्दी गर्छन् र अन्तत उनी एउटा विद्यालयमा प्राथमिक तह अर्थात कक्षा चारमा पढाउने शिक्षकमा नियुक्त हुन्छन् ।

विद्यालयको पहिलो दिन त उनलाई खानाको पहिलो गाँसमा नै परेको ढुङ्गा सरह भयो जति सजिलो कार्य मानेर र ठुला –ठुला सपना बोकेर उनी कक्षाकोठामा छिरेका थिए त्यति सजिलो कक्षाकोठा सम्हाल्न उनलाई भएको थिएन । शान्तिको खेल खेलाउँदा नै विद्यार्थीले गरेको व्यवहार देखेर मलिन अनुहार लगाएर, निराश भएर उभिएका शङ्कर सरको त्यो निरिह अनुहार म यता पुस्तक पढ्दा कल्पना गरिरहेकी थिए । पेशाले शिक्षक भएकी र धेरै वर्ष देखि यस पेशामा अनुभव बटुलेकी म पनि प्रथम पटक नवोदय विद्यालयका कक्षा तीनमा अध्यापन गराउन जाँदा म आफैँ अतालिएकी कुरा मेरो स्मृतीमा त्यसबखत फनफनी घुमिरहेको थियो ।

कल्पनामा कुनै कुरा वा काम गर्न जति सहज हुन्छ यथार्थमा भने ती कुरा कहिलेकाहिँ निकै कठिन हुन्छन् किनभने हामी कल्पनामा परिस्थिति हाम्रो इच्छाद्वारा निर्माण गर्छौँ भने यथार्थमा परिस्थिति अनुसार आफूलाई परिवर्तन गरेर हिँड्नु पर्ने हुन्छ । फेरि कुरा गरौँ शङ्कर सरकै सपनाको पहिलो प्रयास विफल हुँदा उनी जरूर केही हडबडाए, अलिकति निरास भए, थोरै दुःखी पनि भए तर उनले हार मानेनन बरू योजना परिवर्तन गरे । बालबालिका पढ्नमा भन्दा खेल्न र कथा सुन्नमा चाख राख्दछन् भन्ने बालमनोविज्ञान राम्ररी बुझेका शङ्कर सरले पनि कक्षामा सर्वप्रथम कथा सुनाएर नै बालबालिकाको ध्यान आफूतिर आकृष्ट पारेर बिस्तारै बालबालिकासँग घुलमिल हुने वातावरण सिर्जना गरेर शिक्षक विद्यार्थी दुइबिचको दुरी घटाए ।

उनको यो योजना र धैर्यलाईचाहिँ मान्नै पर्छ । उनले बालबालिकाले पढ्ने कथाको पुस्तक जोहो गर्न गरेको त्यो अथक परिश्रमप्रति म भावविभोर भएँ । झन उनले पुस्तकालय नै निर्माण गरेको कुरा पढेर कुनै कार्य गर्ने इच्छाशक्ति दृढ भएँ मार्ग आफैँ बन्दै जान्छ भन्ने भनाइ साँचो हो झैँ लाग्यो । विद्यार्थीलाई सफासुग्घर राख्न गर्नुपरेको त्यो सकसले पनि मेरो मन छोयो । अरू शिक्षकले सिर्कना लगाएर र सुगालाई रटाएझैँ रटाएर र घोटाएर पढाइरहँदा अनेक बाधा विपद् आइरहँदा पनि शङ्कर सर निरन्तर प्रयोगको विधिमा बैरा नाचे अप्ने ताल भनेझैँ एकसुरले अगाडि बढिरहे । खेल खेलाउँदा एउटा विद्यार्थीको टाउको फुटेपछि झेल्नु परेको तनाव, अनि सरहरू र अभिभावकको सुन्नु परेको वचनले पनि शङ्कर सर विचलित भएनन । उनले शिक्षामा प्रयोग जारी नै राखिरहे । मलाई अचम्म लागिरहेछ कसरी शङ्कर सरले इतिहासजस्तो विषयलाई पनि कथाको माध्यमले बुझाएर ती कलिला मस्तिष्कमा ज्ञान भरे होलान् । म यो पुस्तक पढ्दा ठाउँठाउँमा कल्पनामा डुब्दै पनि थिए नदी किनारमा रमाइलो गरिरहँदा ती केटाकेटी कति रमाइरहेका थिए होलान् । कसैले बेसुरको आवाजमा गीत गाउँदा कुनै साथीहरू कति हाँसिरहेका थिए होलान कसरी उनीहरूले गीत गाउने अभ्यास गर्दागर्दै कविता पनि लयमा वाचन गर्न सिकिभ्याएछन् । शङ्कर सरले व्याकरण पढाउन प्रयोग गरेका खेलविधिहरू पनि निकै रोचक थिए उनले नाम शब्द चिनाउन वस्तुहरू उठाएर ल्याउन लगाएका थिए । भर्खरै मात्र व्याकरणमा नाम पढाउँदा मैले केटाकेटीलाई वस्तुहरू अवलोकन गराएकी थिएँ र केटाकेटीले सोचेभन्दा धेरै वस्तुहरू चिनेर नामको बारेमा बुझेका थिए । राम्रो पनि गरेका थिए । सर्वनाम पढाउने तरिका भने उनको र मेरो अलिकति फरक रह्यो । म क्रियापद खेलको माध्यमबाट कसरी पढाउन सकिन्छ होला ? भनेर सोच्दै थिए । यो पुस्तक पढ्दा मलाई त्यो युक्ति पनि फुरिहाल्यो शङ्कर सरलाई म त्यसका लागि धन्यवाद दिन चाहन्छु । बालबालिकाद्वारा निर्मित वस्तुहरू सङ्कलन गर्न लगाइ ती वस्तुहरू सङ्ग्रह गरेर राख्न लगाएर ती वस्तुहरू बालबालिकाको इच्छा अनुरूप नै सुसज्जित गरेर राख्ने व्यवस्था मिलाएर एउटा सङ्ग्राहलय नै निर्माण गरेर शङ्कर सरले सबैलाई चकित नै पारिदिएका थिए ।

भूगोल विषयमा नदी, खोला तथा विभिन्न भूभागहरू खोज्न लगाएर ग्लोबको मद्दतले विभिन्न स्थानहरू चिनाएर भूगोल विषय पनि पढाएर भूगोल विषय नपढाएको भनेर गुनासो गरिरहनुहुने प्रधानाध्यापकको मुख पनि सजिलै बन्द गरिदिएका थिए शङ्कर सरले । अन्तत विद्यार्थीलाई कुनै पनि भाषाका परिभाषा रटाउनु भन्दा पनि नयाँ नयाँ प्रयोग विधिमार्फत पढाउन सकिन्छ भन्ने कुरा शङ्कर सरले प्रयोग गरेर नै देखाइ दिए । दृढ विश्वास , अलिकति मेहनत, अथक प्रयास र कर्तव्यनिष्ठ हुँदै लगनकासाथ इमानदारीपूर्वक कुनै पनि कार्य गर्न चाहेमा एउटा शिक्षकले जस्तोसुकै परिस्थितिमा त्यो कार्य पूरा गर्न सक्षम तथा सफल हुन्छन् भन्ने उनको दिवास्वप्नलाई उनले दिनमै पूरा गरेर देखाएका छन् । धेरै वर्ष अघि यो पुस्तक पढेकी भए तापनि मैले यसका हरेक कुरा बिर्सिसकेकी थिएँ र पुस्तक पढ्दा नयाँ पुस्तक पढिरहेकी छु भन्ने लागिरह्यो । यो पुस्तक पढ्न सुरू गरेपछि मैले एक बसाइमा नै यो पुस्तक पढेर सिध्याएकी थिएँ । म शिक्षण कार्यमा नै रमाएर जीवनको यस क्षणसम्म आइपुगेकी छु र जीवनका बाँकी दिन पनि शिक्षणमा बिताउनेछु । म स्वयम् एक शिक्षक भएकीले यो पुस्तक पढ्दा धेरै ठाउँमा शङ्कर सरसँग आफूलाई भेटेकी छु । शङ्कर सरले सामना गर्नुपरेका कठिनाइ तथा चुनौतीहरूसँग मैले पनि जीवनमा साक्षात्कार गरेकी छु कहिलेकाही कुनै अभिभावकहरूको बोली व्यवहारले निकै दुःखी बनाउँछन् । कहिलेकाही आफूले गर्न खोजेको कुराको वा कामको परिणाम उल्टो पनि निस्किएका छन् । पहिला म समस्याहरूसँग र चुनौतीहरूसँग भाग्न खोज्थे भने अहिले म समस्या र चुनौतीहरूसँग लडन खोज्छु । शङ्कर सरले जस्तै हरेक ठाउँमा कार्यकलाप विधि प्रयोग गर्न नसकेता पनि धेरै ठाउँमा प्रयोग गरेकी छु र प्रयोग गरिरहने छु ।

म शङ्कर सरजस्तै देखाउने काममा भन्दा इमानदारीपूर्वक गरिने काममा विश्वास राख्दछु र मैले दिएको ज्ञानले बालबालिकाको भविष्य सदैब उज्जवल रहोस भन्ने कामना गर्दछु र यसप्रति सचेत पनि रहन्छु । यस कथामा उनले कुनै कुनै प्रयोग गर्न निकै समय लागेको र सबै बालबालिका अध्ययनमा मात्रै रूचि राख्ने खालका नभएका र उनीहरूमा अलगै किसिमका प्रतिभा रहेको कुरा उल्लेख गरेका छन् । प्रत्येक बालबालिकामा अन्तरनिर्हित प्रतिभा हुन्छ । शिक्षकले ती प्रतिभावान् बालबालिकाको पहिचान गरी उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने काम गर्नु पर्दछ तथा मैत्रीपूर्ण र प्रेममय वातावरणमा शिक्षा लिन पाउनु बालबालिकाको अधिकार हो शिक्षाको नाममा दण्ड दिएर बालबालिकाको यो अधिकार खोस्ने अधिकार कुनै पनि शिक्षकको होइन भन्ने सन्देश मैले यस पुस्तकबाट प्राप्त गरेकी छु ।

शङ्कर सरको प्रयोगविधिबाट म निकै प्रभावित भएकी छु र यो पुस्तक पढेर शिक्षक भएकोमा आफैँप्रति गर्व गर्दैछु । मेरो कार्यबाट प्राप्त हुने आत्मसंतुष्टि नै मेरो पुरस्कार हो । शिक्षण पेशामा लाग्नुभएका सम्पूर्ण शिक्षक साथीहरूले यो पुस्तक एकपटक किनेर होस् अथवा मागेर होस् तर खोजेर र रोजेर अवश्य पढ्नुहोला भन्ने सुझाव दिन चाहन्छु ।

Exit mobile version