Home मुख्य समाचार ‘विद्यालय शिक्षा ऐन’ मस्यौदाको विरोधः निजीसँग सम्झौता, सामुदायिकलाई बेवास्ता

‘विद्यालय शिक्षा ऐन’ मस्यौदाको विरोधः निजीसँग सम्झौता, सामुदायिकलाई बेवास्ता

काठमाडौंः साउन १६ गते मन्त्रिपरिषद्ले पारित गरेको ‘विद्यालय शिक्षा ऐन २०८०’को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाए । उनीहरूले आपत्तिमात्र जनाएनन्, साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको आह्वानसमेत गरे । त्यति गर्दा पनि माग सम्बोधन गरिएन भने भदौ १ गतेदेखि विद्यालय बन्द गर्नुका साथै विद्यालयका सम्पूर्ण सवारी साधन सार्वजनिक स्थानमा ल्याएर पार्किङ गरिदिने धम्कीसमेत दिए ।

मस्यौदामा उल्लेख गरिएको ५ वर्षभित्रमा शैक्षिक गुठीमा जानुपर्ने प्रावधानप्रति उनीहरूको कडा आपत्ति थियो । आन्दोलनको घोषणा गरेको तीन दिनपछि सरकारले उनीहरूलाई वार्ताका लागि सिंहदरबार बोलायो । र, उनीहरूले अघि सारेका सम्पूर्ण माग ऐनमा समेट्ने प्रतिबद्धता जाहेर गर्यो । सरकार र निजी विद्यालय सञ्चालकबीच भएको उक्त सहमति बाहिर सार्वजनिक नगर्ने समझदारीसमेत भयो । र, साउन २८ गतेदेखि हुने भनिएको अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइयो ।

अचम्मको कुरा के छ भने जतिबेला निजी विद्यालय सञ्चालकहरूसँग सरकार वार्ता गरिरहेको थियो, त्यहीबेला नेपाल शिक्षक महासंघ भने आन्दोलनको घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गर्दै थियो । पत्रकार सम्मेलनकै क्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सचिवालयबाट महासंघ अध्यक्ष कमला तुलाधरलाई फोन आयो र भनियो, ‘आज साँझ ४ बजेतिर छलफलको लागि बोलाइएको छ । ४/५ जनाको संख्यामा आउनुहोला ।’

निजी विद्यालय सञ्चालकहरूसँग सम्झौता गर्ने मन्त्रीले नै महासंघलाई पनि छलफलको लागि बोलाएका थिए । तर पनि महासंघले आन्दोलनको घोषणा गर्यो । महासंघ अहिले पनि आन्दोलनमै छ । यसरी हेर्दा सरकार निजीसँग घुँडा टेक्न बाध्य भएको देखिन्छ । जबकि निजीको तुलनामा सामुदायिक विद्यालयको संख्या निकै बढी छ । तर, सरकार निजीसँगै डराएको देखिन्छ । र, त एकाएक सम्झौता गर्दै ऐनको मस्यौदा संशोधन गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनायो ।

महासंघले आइतबारदेखि आन्दोलन गरिरहेको छ । तर, सरकार न उनीहरूको मागप्रति गम्भीर बनेको छ, न त सम्झौताको लागि बोलाउने पक्षमा छ । सरकारको नीति उनीहरू कसरी हुन्छ, गलाउने र आन्दोलनलाई निस्तेज पार्ने मनसायमा लागेको देखिन्छ । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले निजी विद्यालयको आफूहरूको एजेण्डा नै फरक रहेको बताए । ‘उहाँहरूको एजेण्डा भनेको एउटामात्र हो, स्कूलको व्यवस्थापन कसरी भन्ने । हाम्रा त अनगिन्ती एजेण्डा छन् । ती एजेण्डा सम्बोधन गर्न सरकार कसरी आउँछ भन्ने हो’, उनले भने, ‘हामी अहिले प्रारम्भिकरूपमा अघि बढेका छौं । हाम्रो फाइनल र निर्णायक आन्दोलन त काठमाडौं केन्द्रित हुन्छ । ऐन दर्ता भएको पाँचौं दिनमा गर्छौ भनेका छौं ।’

आन्दोलनका कार्यक्रमअन्तर्गत् बुधबार ७७ वटै जिल्लाका समन्वय इकाईमा तीन घण्टा धर्ना दिइएको छ । आज बिहीबार प्रदेश तहअन्तर्गत् आन्दोलन थालिने महासचिव सुवेदीले बताए । त्यसपछि प्रतिनिधिसभाका सबै सांसदसँग छलफल गर्ने, अन्तरक्रिया गर्नेजस्ता कार्यक्रम रहेको उनको भनाइ छ ।

महासंघमा आबद्ध शिक्षक, कर्मचारीहरू आन्दोलनमा छन् । त्यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पनि आन्दोलनमा छ । राहत शिक्षकहरूको आन्दोलन छुट्टै छ । बालविकास शिक्षकहरूसमेत आन्दोलनमै छन् । अभिभावकहरूको छुट्टै खालको असन्तुष्टि तथा आन्दोलन चलिरहेको छ । तर, सरकार उनीहरूका माग सम्बोधनमा भने अनिच्छुक देखिएको छ ।

७० प्रतिशतभन्दा सरोकारवाला पक्ष ऐनको मस्यौदाप्रति असन्तुष्ट देखिएका छन् । उनीहरू प्रायः आन्दोलनमा छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारीले चौतर्फी आन्दोलन र असन्तुष्टि भइरहेको अवस्थामा कसको लागि ऐन ल्याउन लागिएको भन्दै प्रश्न गरे । निजीले आन्दोलनको धम्की दिनेबित्तिकै सरकार वार्ताका लागि बोलाउने तर सामुदायिकको हकमा भने बेवास्ता गरिएको उनको भनाइ छ ।

शिक्षाविद् डा. विष्णु कार्कीले केही दिनअघिको कुराकानीमा निजीले उठान गरेका माग सम्बोधनको लागि संविधान नै संशोधन गर्नुपर्ने बताएका थिए । संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको भन्दै राज्यले प्रत्येक बालबालिकालाई निःशुल्क शिक्षा दिनुपर्ने उनको धारणा छ ।

‘राज्यसँग इच्छाशक्ति हुन्थ्यो भने संविधान जारी भएसँगै सबै निजी विद्यालय बन्द गराउनुपथ्र्यो । तर, अहिलेसम्म उनीहरूले पैसा लिएर पढाइरहेका छन् । राज्यले उल्टै उनीहरूकै माग सुनिदिनुपर्ने, सम्बोधन गरिदिनुपर्ने कस्तो विडम्बना’, उनले भने । ‘विगतमा सामुदायिक विद्यालय सुधारमा सरकारले काम नगरेकै कारण निजीले प्रश्रय पाइरहेका थिए । अहिले पनि निजीका कुरा तत्काल सुन्ने तर सामुदायिकको माग भने बेवास्ता गर्दै जाने प्रवृत्ति देखियो’, कार्कीले भने ।

Exit mobile version