Home मुख्य समाचार हेटौंडा उपमहानगरको कार्यपालिका बैठक, शिक्षा इकाई भवन खाली गराउने निर्णय

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक, शिक्षा इकाई भवन खाली गराउने निर्णय

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको ३० औं कार्यपालिका बैठक बुधबार बसेको छ । बुधबार बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले हेटौंडा–२ स्थित सिद्धार्थ मावि परिसरको भवनमा सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई खाली गराउन पत्राचार गर्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

विगतमा कार्यालय सञ्चालनका लागि इकाईले लिएको भवन सिद्धार्थ माविले नै प्रयोग गर्ने मौखिक सहमति भए पनि कार्यपालिका बैठकबाट खाली गराउने निर्णय भएको हो । प्रवक्ता न्यौपानेले शिक्षा विकास तथा समन्वय इकाईको भवन खाली गराउन भनिए पनि इकाईको कार्यालयको व्यवस्थापनको विकल्प के हुने भन्ने स्पष्ट छैन । प्रवक्ता न्यौपानेले उक्त भवनमा वडा कार्यालय राख्न सकिने सम्भावना रहेको बताउनुभयो । यस्तै बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि कायम हुने स्थानीय दररेट विश्लेषण स्वीकृत गरेको छ । जिल्लाको दररेटअनुसार नगरमा सहज हुने तवरले दररेट स्वीकृत गरिएको न्यौपानेले जानकारी गराउनुभयो ।

नगरको बजेटबाट हुने २० लाखभन्दा बढीका परियोजनाहरुमा कन्टिन्जेन्सी (व्यवस्थापनवापत लाग्ने खर्च) २ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बैठकले खर्च केन्द्रसम्बन्धी जनशक्ति व्यवस्थापनका लागि प्रतिबद्धता गर्ने निर्णय गरेको छ । कामको भुक्तानी लिन नगरपालिका नै आउनुपर्ने बाध्यता हटाउन नगरले २ वडाबापत एक लेखाको कर्मचारी पठाउने निर्णय गरेको हो ।

यस्तै, बैठकले २०७३ साल फागुनसम्मको नगरपालिकामा रहेको साविक नगरपालिकाबाट १ देखि ११ वडासम्मको सिफारिस ढड्डाहरु प्रत्येक वडामा पठाउने निर्णय गरेको छ । बैठकले नगरपालिकामा रहेका करारमा कार्यरत कार्मचारीहरुको स्थायी कर्मचारीसरह बिमा गर्ने निर्णय गरेको छ । नगरपालिकाको आवधिक योजनाको कार्यदल गठनको लागि सैद्धान्तिक सहमति भएको छ । यस्तै, बैठकले हेटौंडा उपमहानगरपालिकाका सवारी चालका सञ्जु लोप्चनको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गत साउन १४ गते उपमहानगरपालिकाको अधिकारीहरुको अवलोकन भ्रमणका क्रममा पूर्वी नेपालको इलाम जिल्लामा लोप्चनको निधन भएको थियो ।

Exit mobile version