Home मुख्य समाचार डेङ्गु संक्रमणबाट बच्न सतर्कता अपाउन छलफल

डेङ्गु संक्रमणबाट बच्न सतर्कता अपाउन छलफल

कार्यक्रमका बीच खिचिएको तस्वीर ।

हेटौँडाः लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु रोग नियन्त्रणबारे जिल्लास्तरीय अन्तरक्रिया भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा सरोकारवाला निकाय र विभिन्न सामाजिक संघसंस्थाहरुको अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्नुहुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले डेङ्गुबाट बेलैमा सबै सचेत भएर बस्नुपर्ने बताउनुभयो । देशका अधिकांश सहरहरुमा अहिले डेङ्गु संक्रमणको अवस्था बढ्दै गइरहेकोले मकवानपुरमा पनि डेङ्गु रोकथामबारे पूर्वतयारी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सबै स्थानीय तह, वडा र टोल विकास समुहहरुले अहिले डेङ्गु रोकथामबारे घरघरमा सचेत गराएमा डेङ्गु रोकथाम गर्न सकिने बताउनुभयो । लामखुट्टेको टोकाइबाट बच्नु नै यसको मुख्य उपाय रहेको बताउनुहुँदै उहाँले लामखुट्टे हुर्कने जमेको फोहोर पानीमा समयमै किट छर्नुपर्ने बताउनुभयो ।

यस्तै स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरमा अहिले डेङ्गु रोगको अवस्थाबारे जानकारी गराउनुभयो । यस आर्थिक वर्षको साउन १ गतेदेखि सोमबारसम्म ६५ जनामा डेङ्गु संक्रमण देखिएको उहाँले बताउनुभयो । अहिले दैनिक ३ देखि ४ जनाले मात्र डेङ्गु परीक्षण गर्ने गरेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले कार्यालयमा दर्ता भएका करिब ३८ भन्दा बढी सरकारी र नीजि संस्थाबाट परीक्षण गरिएको तथ्यांक राख्ने गरेको उहाँले बताउनुभयो ।

यस्तै हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रामचन्द्र सापकोटाले सबै स्थानीय तहले समयमा डेङ्गुबारे सचेत रहन बेलैमा सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले अस्पतालमा गत वर्षमा अस्पतालको बेड क्षमताभन्दा बढी विरामी भएकाले अहिले बेलैमा सबै सचेत हुनुपर्ने बताउनुभयो । यस्तै रेडक्रस सोसाइटी मकवानपुरका सभापति लाल बहादुर थापाले जिल्लामा रहेका संस्थाका २८ उपशाखाहरुले डेङ्गु रोग रोकथामबारे सचेतना कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले भदौ, असोज र कात्तिक महिनासम्म संस्थाले डेङ्गुबारे सचेतना कार्यक्रम गर्ने बताउनुभयो ।

यस्तै हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख भोलाप्रसाद चौलागाईले डेङ्गु रोकथाम गर्न उपमहानगरपालिकाले यस वर्ष पनि बजेट राखेर कार्यक्रम सुरु गरेको बताउनुभयो । उहाँले अहिले डेङ्गु रोगबारे जनमानसमा त्रास उत्पन्न भएको पाइएकोले नआत्तिकन लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो । अबको ३ महिना डेङ्गुको प्रभाव रहने सक्ने उहाँले बताउनुभयो । अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल र मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version