Home मुख्य समाचार उपमहानगरको शिक्षामा अर्को एउटा मजाक, नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी

उपमहानगरको शिक्षामा अर्को एउटा मजाक, नगरस्तरीय शैक्षिक सामग्री प्रदर्शनी

आधुनिक राष्ट्रिय माविका विद्यार्थीले व्यवस्थित सहरको परियोजना कार्य प्रस्तुत गर्दै ।

हेटौँडाः शिक्षा नसुध्री समाजका अन्य क्षेत्र सुध्रन सक्दैन । शिक्षालाई सुधार्नु अनिवार्य छ । शिक्षा आफू सुध्रिएर समाजलाई सुधार्नु पर्छ । तर, हाम्रो समाजमा भने शिक्षा नै भद्रगोल, लथालिंग बनेको छ । सन्दर्भ गत शुक्रबारको हो । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले असार १२ गते शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गर्ने सूचना जारी गरेको थियो । प्रदर्शनीमा सहभागी हुन चाहने विद्यालयले असार १३ गते नै नाम टिपाउनु पर्ने र असार १५ गते शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरिने जनाइएको थियो ।

३ दिनको सूचनामा हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा आयोजना गरिएको प्रदर्शनीमा हेटौँडा उपमहानगरका १२ वटा विद्यालयको मात्रै सहभागिता रहेको थियो । हेटौँडा उपमहानगरमा ७३ वटा सामुदायिक र ४८ वटा निजी गरी १ सय २१ वटा विद्यालय छन् । १ सय २१ वटा विद्यालय मध्ये १२ वटा विद्यालयको मात्रै सहभागिताले नै पुष्टि गर्छ कि शैक्षिक सामग्री प्रदर्शनीको औचित्य के होला ? उपमहानगरको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाको वडामा भएको एक दिने कार्यक्रममा बिहान उद्घाटन र दिउँसो समापन समारोह आयोजना गर्न भने आयोजक समितिले छुटाएन ।

जनप्रिय माविका विद्यार्थीले तयार पारेको खाद्यान्नको कलात्मक प्रस्तुती अवलोकन गर्दै विद्यार्थी ।

शैक्षिक सामग्री प्रदर्शनीमा आयोजक जनप्रिय माविसहित हेटौँडा–१८ स्थित ज्योति मावि, हेटौँडा–८ स्थित चन्द्रोदय मावि र कमाने एकेडेमी, हेटौँडा–११ स्थित हेटौँडा एकेडेमी, हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि र नवोदय शिशु सदन, हेटौँडा–५ स्थित जीएस निकेतन, हेटौँडा–१७ स्थित बालबोध मावि, हेटौँडा–१४ स्थित जनजागृति मावि र हेटौँडा–१० स्थित ज्ञानदा माविको सहभागिता रहेको थियो ।

शैक्षिक सामग्री प्रदर्शनी भनिए पनि विद्यार्थीको परियोजना कार्य प्रदर्शनी रहेको थियो । त्यसमा पनि विद्यार्थीले निर्माण गरेका नयाँ सामग्री भन्दा पनि पुराना सामग्री प्रदर्शनीमा ल्याएका थिए । चन्द्रोदय माविमा १० कक्षामा अध्ययनरत विद्यार्थी समूहले अघिल्लो वर्ष तयार पारिएको सामग्री लिएर आएको बताए । प्रदर्शनीमा सहभागी अधिकांश सामग्री पुराना थिए । प्रदर्शनीमा नियमित शिक्षण अभ्यासमा प्रयोग हुने सामग्री प्रस्तुत गरिएको थिएन । हेटौँडा एकेडेमीका १० कक्षामा अध्ययनरत सुरज कुमार चौरसियाले ९ कक्षामा बनाएको खाद्यान्न पिन्ने मेसिन प्रदर्शनीमा राखेका थिए ।

विद्यार्थीको परियोजना कार्यको अवलोकन गर्दै विद्यार्थी ।

शैक्षिक सामग्री प्रदर्शनीमा विशेषतः शिक्षकले विद्यालयमा विद्यार्थीलाई नियमित पठनपाठनको क्रममा प्रयोग गर्ने सामग्री प्रदर्शनी गरेर शिक्षकबीच नै अवलोकन र अन्तरक्रियाको अवसरका लागि उपमहानगरको शिक्षा महाशाखाले आवश्यक सहजीकरण गर्नुपर्ने थियो । एउटा विद्यालयले अभ्यास गर्दै आएको प्रक्रिया र सामग्री अर्को विद्यालयका लागि सिकाईको विषय हुन सक्थ्यो । तर, महाशाखाले असार मसान्तको चटारोमा आयोजनाका लागि मात्रै कार्यक्रमको आयोजना गरेको छ ।

शैक्षिक सामग्री प्रदर्शनीमा रोचक र प्रेरक विषय केही पनि हुन सकेन । शिक्षकले प्रदर्शनीमा आफ्नो प्रस्तुती नै राखिएको थिएन । विद्यार्थी नै आफ्नो परियोजना कार्यको व्याख्या गरिरहेका थिए । हतारमा आयोजना गरिएको, बिना तयारी नै आयोजना गरिएकै कारण प्रदर्शनीमा राम्रो गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने कुनै पनि कार्य गरिएन । शैक्षिक सामग्री प्रदर्शनीमा सहभागी नभएका विद्यालयले अवलोकनका लागि विद्यार्थी भने पठाएका थिए । आयोजकलाई लागेको होला कि प्रदर्शनीमा अवलोकन गर्नेको भीड बढाए पुग्छ । प्रदर्शनीको उद्देश्यअनुसारका क्रियाकलापमा भने ध्यान पुग्न सकेको थिएन ।

खाद्यान्न पिन्ने मिलको प्रदर्शनी गर्दै हेटौँडा एकेडेमीका विद्यार्थी ।

यसअघि शिक्षक भलिबलको कार्यक्रम पनि असार दोस्रो साता आयोजना गरेको थियो । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाकी अधिकृत सुनिता महर्जन यसअघि नै जानकारी गराइएको र यसअघि न्यून सहभागी हुने भएकोले सञ्चालन हुन नसकेको शैक्षिक सामग्री प्रदर्शनी छोटो सूचनाको आधारमा आयोजना गरिएको बताउनुहुन्छ । शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको समीक्षा गर्न सकिने उल्लेख गर्नुहुँदै सोँचे जस्तो नभए पनि आर्थिक वर्षको अन्तिममा हतारमा गरिएको उहाँले बताउनुभयो । शैक्षिक सामग्री प्रदर्शनीमा विद्यार्थी र शिक्षकको संयुक्त सहभागिता रहने गरी सहभागी हुन आग्रह गरिएको महर्जनले जानकारी दिनुभयो ।

Exit mobile version