Home मुख्य समाचार अभावका बेला दैनिक १० लाख लिटरको जोहो

अभावका बेला दैनिक १० लाख लिटरको जोहो

हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चरम सुख्खा मौसमको समयमा पनि दैनिक १० लाख लिटर पानीको थप स्रोत व्यवस्थापन गर्न सफल भएको छ । ३ दिनको प्रयासपछि मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेखोलाबाट दैनिक १० लाख लिटर पानी प्रणालीमा थप गर्न सफल भएको हो । पानीको चरम अभावका बेला हेटौँडा बजार क्षेत्रमा वितरण गर्नका लागि भैंसेखोला क्षेत्रमा पानीको स्रोत व्यवस्थापन गर्न सफल भएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनुभएको छ ।

हेटौँडा बजार क्षेत्रका करिब ८ हजार धारामा दैनिक बढीमा १ घण्टामात्रै पानी वितरण हुँदै गर्दा सर्वसाधारणलाई समस्या भइरहेको बेला ३ दिनको अथक प्रयासपछि दैनिक १० लाख लिटर पानीको स्रोत सुनिश्चित गर्न सफल भएको अध्यक्ष विष्टको भनाइ छ । नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटार व्यारेकसँगैको भैंसेखोलाबाट खानेपानीको स्रोत व्यवस्थापन गरिएको हो । खडेरीका कारण करिब एक सातादेखि हेटौँडा बजार क्षेत्रमा पानी वितरण गर्न समस्या भइरहेको र समस्या भएका क्षेत्रमा खानेपानीको ट्यांकरमार्फत निशूल्क पानी वितरण गर्दै आएको अध्यक्ष विष्टले बताउनुभयो ।

सोमबार साँझ ८ बजेबाट पानी वितरण सुरु भएको उल्लेख गर्नुहुँदै हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले मंगलबार साँझसम्ममा साविककैस्वरुपमा दैनिक औसत ६ घण्टा पानी वितरण गरिने दावी गर्नुभएको छ । भैंसेखोलामा श्रोत विकास गरी पानी वितरण गर्न ६ इन्च गोलाईको पाइपलाइन करिब एक सयमिटर नयाँ व्यवस्थापन गरिएको न्यौपानेले बताउनुभयो । मनसुन सक्रियभएसँगै खानेपानीको वितरण प्रणालीमा सहज हुने अपेक्षा गरिएको छ ।

Exit mobile version