Home कला हास्यव्यंग्य कविता प्रतियोगितामा १४ जिल्लाका कवि सहभागी हुँदै

हास्यव्यंग्य कविता प्रतियोगितामा १४ जिल्लाका कवि सहभागी हुँदै

हेटौंडाः सिस्नुपानी मकवानपुरले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको खुला हास्यव्यंग्य कविता प्रतियोगितामा १४ जिल्लाका २५ कविका कविता अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएको छ ।

मंगलबारसम्म प्राप्त ८१ वटा कवितामध्ये आयोजकले २५ वटा कविता छनोट गरेको हो । आयोजकले मकवानपुरका ६ जना, भक्तपुरका ३ जना, कास्कीका ३ जना, नवलपरासीका २ जना, पाँचथरका २ जना, गुल्मी, पर्वत, गोरखा, तनहुँ, उदयपुर, रुपन्देही, धादिङ, सुनसरी र धनकुटाका १/१ जना कविका कविता छनोट गरेको छ ।

छनोट भएका कविताहरु आउँदो शुक्रबार एक समारोहका बीच प्रतियोगितामा सहभागी कविले वाचन गर्ने सिस्नुपानी नेपाल मकवानपुरका सह–सचिव संप्रस पौडेलले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को विशेष प्रवद्र्धनमा प्रतियोगिता आयोजना हुन लागेको हो । मकवानपुरबाट गायत्री नेपालले रक्सी, प्रभास घिमिरेले बाँदर, बैकुण्ठ लामिछानेले प्रिय देशबासीहरु, रस्मिता तिमल्सेनाले गज्जबको लोकतन्त्र, सविता तिमल्सेनाले हेटौंडाको कहानी र समर्पण न्यौपानेले टेन्सन नहोस् शीर्षकको कविता वाचन गर्नुहुनेछ । यस्तै, कास्कीबाट छविलाल आर्चायले खन्चुवा, मदन घिमिरेले सरकार निदाएको छैन र संयोग बस्यालले हामी कविता वाचन गर्नुहुने सिस्नुपानी नेपाल मकवानपुरले जनाएको छ ।

प्रतियोगितामा भक्तपुरबाट कविराज घिमिरेले मान्छे, डिल्लीप्रसाद मुलतिहुनले जाँडरक्सी महोत्सव र रामशरण न्यौपानेले राजनीतिको डढेलो वाचन गर्नुहुनेछ । धनकुटाबाट अनिल अदृश्यको श्रीमतीको अनुहार, पाँचथरबाट कमल घिमिरेको नेताज्यूलाई स्वागत छ र भरत रिजालको असफल प्रेमीको बकपत्र प्रतियोगिताका लागि छनोट भएको बताइएको छ । यसैगरी, गुल्मीबाट काशीनाथ मिश्रितको कुर्सी, नवलपरासीबाट टंकराज ढकालको अझै झिंगगे दाउ र सन्तोष खनालको सत्ताको स्वाद कविता वाचन गरिनेछ सहसचिव पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा पर्वतबाट तारानाथ पराजुलीले हामी, गोरखाबाट निशान निष्कर्षले बा होइन पितामह, तनहुँबाट युगेश आचार्यले प्रजातन्त्र शीर्षकको कविता प्रतियोगितामा वाचन गर्नुहुनेछ । उदयपुरबाट रमेश व्यङ्ग्यचरीको उहाँ जस्तै हुन नसक्दा, रुपन्देहीबाट रमेश समर्थनको श्रीमतीको सनक, धादिङबाट राजु झल्लुप्रसादको साम्यवादी रुख र सुनसरीबाट सुरज पराजुलीको फलानो शीर्षकको कविता वाचन हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुन आउने कविलाई खाने बस्ने व्यवस्था मिलाइएको सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले बताउनुभएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय, तृतीय हुनेले क्रमशः १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ भने सान्त्वना हुने दुईजनाले ३/३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version