Home कला लेखकको उपस्थितिमा सनेसमाथि अन्तरक्रिया

लेखकको उपस्थितिमा सनेसमाथि अन्तरक्रिया

सनेसका लेखक रेणुका जिसीसँग अन्तरक्रिया गर्नुहुँदै कवि सुवास खनाल ।

हेटौंडाः साहित्यकार रेणुका जिसीको कथा संग्रह ‘सनेस’ माथि हेटौँडामा अन्तरक्रिया भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा सनेसबारे कवि सुवास खनालले परिचर्चा तथा लेखक रेणुका जिसीसँग बहस गर्नु भएका थियो । साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको सभा हलमा संगम उपाध्यक्ष सानु खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा कवि तथा आख्यानकार भूपिन प्रमुख अतिथि रहनु भएको थियो र स्वागत मन्तव्य कोषाध्यक्ष मनोज पोखरेलले राख्नुभएको थियो ।

कथा संग्रहबारे चर्चा गर्दै खनालले १२ कथा रहेको उक्त कृतिमा अधिकांश नारी मूल चरित्र रहेका कथाहरू भएको र नारीहरूका पीडा तथा अनुभूतिलाई समेटिएको बताउनु भयो । कथा संग्रहले पहाड र मधेस मिश्रित भूगोलका विषय समेटेको उहाँले प्रष्ट पार्नुभयो । बहसको रुपमा सञ्चालित उक्त कार्यक्रममा खनालले ‘किन तपाईँका कथामा समाविष्ट नारी पात्रहरू बढी संघर्षशील र असल चरित्रका देखिएका र पुरुष पात्रहरूचाहीँ स्वार्थी, अवसरवादी तथा पेलाहा देखिएका’ भन्ने प्रश्न गर्दा कथाकार जिसीले ‘आफूले देखेका र भोगेका विषयवस्तु नै कथा बनेर आएकाले समाजको मूल चरित्र नै त्यस्तो देखिएकाले कथामा त्यसो भएको स्पष्ट पार्नुभयो ।

कथा संग्रहबारे बोल्नुहुँदै प्रमुख अतिथि भूपिनले कथासंग्रहको विषयवस्तु आञ्चलिक रहेको र लेखन बोल्ड रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा कवि निमेष निखिल, मुक्तककारहरू रुद्र अधिकारी, प्राञ्जल, दीपक गौतम, डिबी बर्तौला, विश्वनाथ सञ्जेल, नियात्राकार रमेशमोहन अधिकारी, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने लगायत सर्जकहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version