Home खेलकुद खुला दौडमा मिजार प्रथम

खुला दौडमा मिजार प्रथम

फाइल तस्वीर ।

हेटौंडाः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको १२ नम्बर वडा कमिटीको आयोजनामा भएको खुला दौड प्रतियोगितामा सञ्जीव मिजार प्रथम भएका छन् । शनिबार हेटौंडा–१२, सिग्रेनीस्थित सोल्टीचोकदेखि हात्तीगौंडा पिपलबोटसम्म आयोजित ३ किलोमिटर दौड प्रतियोगितामा १० मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै मिजार प्रथम भएको हो ।

प्रतियोगितामा ११ मिनेट १५ सेकेन्डमा दूरी पार गरेका अर्पण मोक्तान द्वितीय र ११ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेका विरोध गोले तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सान्त्वना भएका अमृत सुनार, सूवर्ण स्याङ्बो र प्रेम थिङलाई १ हजार रुपैयाँ प्रदान गरिएको छ ।

महिलातर्फ सान्त्वना भएका ४ जनालाई पनि पुरस्कार प्रदान गरिएको छ । अमृता मोक्तान, लक्ष्मी थिङ, सविना मगर र सुस्मिता बोम्जनलाई नगद १–१ हजार रुपैयाँसहित प्रदान गरिएको छ । यस्तै बालबालिकातर्फ रुपेश थोकर, गगन गुरुङ र सान्जे दोङलाई १–१ हजार रुपैयाँ प्रदान गरिएको छ । नेकपा एमालेले पार्टीको मिसन ग्रासरुटअन्तर्गत् प्रतियोगिता आयोजना गरिएको हो ।

युवा संघ १२ नम्बर वडा कमिटीका अध्यक्ष महेश भट्टराईको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा–१२ का कार्यवाहक अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, युवा संघकी केन्द्रीय सदस्य आरती पाठक, प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला प्रवक्ता सुरेश रुम्बा र हेटौंडा उपमहानगर कमिटिका अध्यक्ष राजेश नगरकोटी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version