Home मुख्य समाचार फेकोफनको महाधिवेशन तयारीमा स्थानीय सामुदायिक वन

फेकोफनको महाधिवेशन तयारीमा स्थानीय सामुदायिक वन

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा आयोजना गरिएको भेलालाई सम्बोधन गर्नुहुँदै सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक ।

हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)को महाधिवेशनको तयारीमा स्थानीय तहका समुदायिक वन तयारीमा छन् । मकवानपुर जिल्लाका स्थानीय तहमा रहेका सामुदायिक वन उपभोक्ता समितिहरुबाट महासंघको प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको हो ।

एक सामुदायिक वनबाट २–२ जना पुरुष र महिलाको सहभागिता गराइएको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले जानकारी दिनुभयो । पालिकास्तरीय समुदायिक वन उपभोक्ता समिति निर्माणका लागि जिल्ला सामुदायिक वनमा आवद्ध भएको हुनुपर्ने व्यवस्था रहेको चौलागाईंले बताउनुभयो ।

प्रत्येक स्थानीय तहका सामुदायिक वनबाट छनोट भएर गएकामध्ये अध्यक्ष र सचिव एक जना महिला र एक जना पुरुष हुनुपर्ने वा दुबै महिला हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै, उपाध्यक्ष र कोषाध्यक्षमध्ये पनि एक जना महिला हुनैपर्ने व्यवस्था रहेको बताइएको छ । २ जना पदेन सदस्यसमेत गरी एक स्थानीय तहमा ६ जना सदस्य रहने व्यवस्था रहेको छ । जिल्ला अधिवेशनका लागि मकवानपुरका १० वटा स्थानीय तहबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिव गरी ६० जना सदस्य रहनेछन् ।

बुधबारसम्म ४ वटा स्थानीय तहमा सदस्य चयन भइसकेको बताइएको छ । गत चैत १७ गते बलराम अधिकारीको अध्यक्षतामा मकवानपुरगढी गाउँपालिकाको समिति चयन भएको छ । चैत १९ गते राजकुमार लामाको अध्यक्षतामा कैलाश गाउँपालिकामा, २० गते गणेशमान श्रेष्ठको अध्यक्षतामा थाहा नगरपालिकामा र २२ गते दलबहादुर राईको अध्यक्षतामा बागमती गाउँपालिकामा समिति चयन गरिएको चौलागाईंले जानकारी दिनुभयो । कार्यतालिका अन्तर्गत् २३ गते राक्सिराङ गाउँपालिकामा, २५ गते हेटौंडा उपमहानगरपालिका, २६ गते बकैया गाउँपालिकामा, २७ गते भीमफेदी गाउँपालिका, २८ गते इन्द्रसरोबर गाउँपालिकामा र ३० गते मनहरी गाउँपालिकामा समिति चयन गरिसक्ने उहाँले जानकारी दिनुभयो । बैशाख १२ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । जिल्ला अधिवेशनपश्चात् प्रदेशस्तरको महाधिवेशन हुने कार्यतालिका रहेको छ ।

Exit mobile version