हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयका पाठकको संख्या बढ्न थालेको छ । पुष्पलाल पार्कसँगै रहेको पुस्तकालयमा नियमित अध्ययनका लागि आउनेहरुको संख्या बढ्न थालेको हो ।
पुष्पलाल पार्कमा घुम्न आउनेहरु पनि पुस्तकालयमा गएर विभिन्न पुस्तक तथा पत्रिका अध्ययन गर्ने गरको पुस्तकालयका कर्मचारी आकृति मानन्धरले जानकारी दिनुभयो । पहिलाभन्दा अहिले धेरै संख्यामा मानिसहरु पुस्तकालयमा आउने गरेको उहाँले बताउनुभयो ।
पुस्तकालयमा दैनिक १०–१२ जना नियमित अध्ययनका लागि आउने गरेको र अन्य व्यक्तिहरु पनि पुस्तकालयमा आउने क्रम बढेको मानन्धरको भनाई छ । पुस्तकालयमा साहित्यसम्बन्धी पुस्तकहरु धेरै रहेको उहाँले जानकारी दिनुभयो । पुस्तकालयमा बसेर पुस्तक पढ्ने सुविधाका साथै नियमित पाठकहरुलाई घरमा लगेर पढ्ने सुविधासमेत दिने गरेको उहाँले बताउनुभयो ।
पुस्तकालयमा आउने पाठकहरुले पुस्तकालयलाई सकारात्मकरुपमा लिने गरेको मानन्धरले जानकारी दिनुभयो । पुस्तकालय दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म खुला हुने गरेको छ । पुस्तकालय २०५९ सालदेखि निरन्तर सञ्चालन भइरहेकोे छ । पुष्पलाल स्मृति पुस्तकालय सञ्चालन भएको २० वर्ष पुगिसकेको उहाँले बताउनुभयो ।
पुस्तकालयमा नयाँ पुस्तकहरु एक हजारभन्दा बढी छन् । पुस्तकालयको करिब ८ हजार सदस्य छन् । पुस्तकालयले घरमै लगेर पढ्ने सुविधा दिएका पुस्तक पाठकले एक हप्ताभित्र फिर्ता गर्नुपर्ने नियम रहेको मानन्धरले बताउनुभयो ।
