Home सम्पादकीय विस्तार हुँदै स्वास्थ्य बीमा

विस्तार हुँदै स्वास्थ्य बीमा

वि.सं २०७२ साल चैत २५ गतेबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमले निम्न तथा मध्यम वर्गीय नेपालीलाई निकै सहयोग पुगेको छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । देशका ३ जिल्ला कैलाली, बाग्लुङ र इलामबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवार भए वार्षिक तीन हजार ५ सय रुपैयाँ बुझाएपछि एक लाख रुपैयाँ बराबरको औषधि उपचार सुविधा पाइन्छ । सरकारले तोकेको करिब ४ सय सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बीमाबापत निःशुल्क उपचार सुविधा उपलब्ध छ । पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप ७ सय रुपैयाँ बुझाएर बीमा गराउन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । हाल देशभर करिब १० लाख परिवारका ५० लाख नेपाली स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

मकवानपुर जिल्लामा पनि स्वास्थ्य बीमा गराउनेको संख्या उल्लेख्य रहेको छ । जिल्लाका केही प्राथमिक स्वास्थ्य केन्द्रसहित हेटौंडा अस्पताल, चुरेहिल हस्पिटल र हेटौंडा सामुदायिक आँखा अस्पतालबाट बीमा सुविधाअन्तर्गत् औषधी उपचार प्राप्त गर्न सकिन्छ । स्वास्थ्य बीमा गराएपछि चारवटा सर्कल (भदौ, मंसिर, फागुन र जेठ)मा उपचार सेवा सुरु हुने व्यवस्था रहेको छ । बीमा तथा नवीकरण गराउनेहरुमध्ये मकवानपुरमा भदौमा बढी र फागुनमा कम रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयको तथ्यांक छ । मकवानपुरमा गत वर्ष १ लाख ७१ हजार १ सय ५२ जनाको स्वास्थ्य बीमा गरिएको छ । ९३ हजार ३ सय २९ महिला र ८८ हजार १ सय १६ पुरुषको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमाबाट एक हजार एक सय ३६ किसिमको औषधी पाइन्छ । बीमाबाट वार्षिकरुपमा तोकेअनुसार औषधी, स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण, उपचार सेवा, शल्यक्रियाको सुविधा निःशुल्क पाइन्छ । यसैगरी तोकेअनुसारको चश्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखीजस्ता स्वास्थ्य सामग्री पनि बीमाबाट पाइन्छ । पोलेको, गम्भीर चोटपटकका लागि गरिने उपचार, ओठ, तालु काटिएकाको सर्जरी पनि बीमाबाट निःशुल्क हुन्छ । दाँत निकाल्ने तथा दाँतको सामान्य चोटपटकको उपचार पनि बीमाबाट हुने गर्दछ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रमुख उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो । स्वास्थ्य सेवाका क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने यस कार्यक्रमको थप उद्देश्य छ । स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रम बिस्तार हुँदै गएको छ । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारले सेवाप्रदायक स्वास्थ्य संस्थाहरु थप गर्नुको साथै बीमाबाट प्राप्त हुने लाभको सीमा पनि बढाउँदै लगेको छ । सबै बिमितले आफ्नो नजिकको प्राथमिक स्वास्थ्य केन्द्र वा जिल्ला अस्पताल वा तोकिएको निजी अस्पतालबाट स्वास्थ्य बीमा सुविधाबाट उपचार प्राप्त गर्न सक्छन् । नजिकको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएमा त्यहाँबाट सिफारिस लिएर स्वास्थ्य बीमा सुविधा रहेको जुनसुकै स्वास्थ्य संस्थामा गएर उपचार गराउने सुविधा बीमाले दिएको छ ।

स्वास्थ्य बीमाले नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधी उपलब्ध गराउँदै आएको र देशका सबै क्षेत्रमा विस्तार भइसकेको अवस्थामा यसमा सबै नागरिकलाई आवद्ध गराउनु आवश्यक छ । बीमा कार्यक्रममार्फत् उपचार गराउन केही झन्झटिलो प्रक्रिया हुने र सबैतिर सहजै बीमामार्फत् उपचार गराउन नपाइने कारण यसतर्फ सबै नागरिकको आकर्षण बन्न सकेको छैन । बीमाले देशका एक चौथाईलाई पनि समेट्न नसकेको अवस्थामा यसलाई अनिवार्य गराई थप प्रभावकारी बनाउनु पर्छ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएपछि तोकिएको सीमाभित्रको स्वास्थ्य सेवा जुनसुकै अस्पतालबाट पाउने अवस्थाको ग्यारेन्टी गर्न सकेमा यसको विस्तार सहज हुने विश्वास गर्न सकिन्छ ।

Exit mobile version