Home अर्थ/व्यापार क्यान इन्फोटेक मेला सुरु, रोबर्टबाट उद्घाटन

क्यान इन्फोटेक मेला सुरु, रोबर्टबाट उद्घाटन

क्यान मेलाको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडामा पहिलो पटक बागमती प्रदेशस्तरीय सूचना–प्रविधि (क्यान इन्फोटेक) मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखाले आयोजना गरेको मेलाको रोबर्ट प्रयोग गरी बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मुक्तानले प्रविधि क्षेत्रमा सरकारले जोड दिएको बताउनुभयो । उहाँले प्रविधिमैत्री विकासका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सकेको प्रयास गरिरहेको र गरिरहने बताउनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उपमहानगरपालिकालाई पेपरलेस बनाउने बताउनुभयो । उहाँले हेटौंडालाई स्मार्ट सिटी बनाउने योजना अघि बढाउन अध्ययन भइरहेको पनि जानकारी दिनुभएको छ ।

चैत ६ गतेसम्म सञ्चालन हुने मेलामा कम्प्युटर सफ्टवयेर तथा हार्डवेयर, प्रिन्टरलगायत सूचना, प्रविधिका बारेमा प्रदर्शनी र तथा खरिद विक्रीको कार्य हुनेछ भने कम्प्युटर तथा प्रिन्टर लगायत प्रविधिको सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, बीमासम्बन्धी प्रदर्शनी तथा विक्री स्टल रहेका छन् । मेलामा कुल ४० वटा स्टल छ ।

शुक्रबारदेखि मेलामा रोबर्ट र पब्जी प्रतियोगिता हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुनेछ । रोबर्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताउनुभयो । मेलामा विद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २५ रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । मेलामा इ–टिकटको पनि व्यवस्था छ ।

Exit mobile version