Home खेलकुद पिप्ले–क्याम्पा रंगशालामा शनिबारदेखि पालिकास्तरीय फुटबल

पिप्ले–क्याम्पा रंगशालामा शनिबारदेखि पालिकास्तरीय फुटबल

पालिकास्तरीय फुटबल प्रतियोगिताको विषयमा जानकारी दिनुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी ।

हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुर र जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको संयुक्त आयोजनामा पर्सी शनिबारदेखि हेटौंडामा दोस्रो संस्करणको अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको फुटबल टिम सहभागी हुनेछ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी गराएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभएको छ । प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगिताका लागि जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले नगद ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतियोगिताको बिजेताले २ लााख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वाेत्कृष्ट खेलाडिलाई नगद १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्तासहित अन्य विधागत उत्कृष्ट खेलाडि र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच हुनेछ । गत बर्ष सम्पन्न पहिलो संस्करणको अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको थियो ।

Exit mobile version