हेटौंडाः पशुपति भेट्रान्स क्लबको आयोजनामा भएको वडास्तरीय प्रथम मोहन श्रेष्ठ स्मृति ८ ‘ए’ साडइ भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि ७ नम्बर वडाले जितेको छ । बुधबार हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रको खेल मैदानमा भएको खेलमा ४ नम्बर वडालाई टाइब्रेकरमा १–० गोलअन्तरले हराउँदै ७ नम्बर वडाले उपाधि जितेको हो ।
७ नम्बर वडालाई उपाधि दिलाउन अमर गुरुङले टाइब्रेकरमा निर्णायक गोल गरे । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जितसँगै ७ नम्बर वडाले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको ४ नम्बर वडाले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ७ नम्बरका ज्ञानु क्षेत्री घोषित भए । क्षेत्री उत्कृष्ट गोलरक्षक पनि घोषित भए । प्रतियोगितामा ४ गोल गरेका ४ नम्बर वडाका मनोज लामा सर्वाधिक गोलकर्ता भए । उत्कृष्ट फरवार्ड ७ नम्बरका राजेन्द्र थापा मगर, उत्कृष्ट मिडफिल्डर ४ नम्बरका प्रकाश थापा मगर, उत्कृष्ट डिफेन्डर ४ नम्बरका रणवीर थापा र उत्कृष्ट प्रशिक्षक ७ नम्बरका सोम तितुङ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो । पुरस्कार वितरण समारोहमा वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
