Home मुख्य समाचार कतारमा रहेका नेपालीको सहयोगमा शैक्षिक सामग्री सहयोग

कतारमा रहेका नेपालीको सहयोगमा शैक्षिक सामग्री सहयोग

हेटौंडाः रोजगारीको क्रममा कतार पुगेका नेपाली युवाले स्थापना गरेको जागरुक युवा समाज नेपालले महोत्तरीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । गौशाला नगरपालिका–१, बान्हटोल रामनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक जय किशोर मण्डलले शिक्षा क्षेत्रमा जागरुक युवा समाजले गरेको काम प्रशंसनीय रहेको बताउनु भयो । शैक्षिक सामग्री पाएसँगै विद्यार्थीहरु पनि खुसी हुनुका साथै विद्यालय नियमित आउने प्रतिवद्धता जनाएका छन् । उहाँले सहयोग गर्ने कतारमा रहेका यस संस्थाका सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिनुहुँदै कतारमा रहेका नेपालीले गरेको परिश्रमबाट नेपालमा गरेको सहयोग कदर योग्य भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रतिनिधि होम बहादुर श्रेष्ठले शैक्षिक सामग्री विद्यार्थीका लागि अमूल्य गहना भएकाले कपी, कलम, पेन्सील शिक्षाका लागि पहिलो आवश्यकता भएको बताउनुभयो । उहाँले जागरुक युवा समाजले थोरै–थोरै बचत गरेर पनि विद्यार्थीलाई गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभयो । जागरुक युवा समाज सन् २०१४ मा स्थापना भएर सन् २०१८ मा औपचारिक रुपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेको अध्यक्ष यादव चौलागाईले बताउनुभयो । संस्थाले प्राकृतिक विपत्तिका बेला नेपालका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा कतारको राजधानी दोहा स्थित कतार एयरवेजमा कार्यरत नेपालीहरुले आफुले प्राप्त गर्ने तलबबाट बार्षिक ७० रियाल बचत गरेर नेपालमा सहयोग गर्दै आएका छन् । संस्थाका सदस्य विरामी पर्दा संस्थाले सदस्यता कल्याणकारी कार्यक्रम मार्फत सहयोग समेत गर्ने गरेको छ ।

Exit mobile version