Home खेलकुद मकवानपुर गोल्डकप–२०७९ः एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा

मकवानपुर गोल्डकप–२०७९ः एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा

हेटौंडाः पाँचौं संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले हराउँदै एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा एभिनिरको जितका लागि क्याप्टेन युनिक ओनाले र सावाले गोल गरे । खेलको म्यान अफ द म्याच वीरगञ्ज युनाइटेडका उमेश कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । एभिनियरका लागि कप्तान यानिक योआनाले ३९ औँ मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा बीरगन्ज युनाइटेडले खेलमा सन्तुलन कायम राखेको थियो । यद्यपि पहिलो हाफ १–० ले पछि परेको बीरगन्जविरुद्ध ७४ औँ मिनेटमा साबाले गोल गर्दै सहज जितको आधार तयार पारे । वीरगञ्जले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि हार टार्न सकेन ।

दोश्रो क्वाटरफाइनल खेलमा बिहीबार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Exit mobile version