Home अर्थ/व्यापार हेटौंडामा संयुक्त बजार अनुगमन, तौल कम भएको चामलको बोरा भेटिएपछि मणि खाद्यान्न...

हेटौंडामा संयुक्त बजार अनुगमन, तौल कम भएको चामलको बोरा भेटिएपछि मणि खाद्यान्न सेन्टरको गोदाम सिल

संयुक्त बजार अनुगमन टोलीले कम तौल भएको चामल र उपभोग गर्ने म्याद गुज्रिएको चनाको दाल बरामद भएको मणि खाद्यान्न सेन्टरको गोदाम सिल गर्दै ।

हेटौंडाः संयुक्त बजार अनुगमन टोलीले आज मकवानपुर जिल्लाको हेटौंडा बजारक्षेत्रका खाद्यान्न पसलको अनुगमन गरेको छ । स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारवादीसहितको संयुक्त अनुगमन टोलीले हेटौंडा–४, स्कूलरोडस्थित घरसंसार, हेटौंडा–२ स्थित वैद्यनाथ बाबा खाद्यान्न सेन्टर र मणि खाद्यान्न सेन्टरको अनुगमन गरेको छ ।

घरसंसारमा भेटिएको लेवल नभएको चामल ।

संयुक्त अनुगमन टोलीले घरसंसारबाट खाद्य वस्तुको जानकारी उल्लेख गरिने लेवल नभएको पाइएको जनाएको छ । मणि खाद्यान्न भण्डारमा भने जगत ब्राण्डको चालमको बोरा तोकिएको भन्दा कम तौल भएको र चनाको दालको उपभोग गर्ने म्याद सकिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनुभयो । लेवल नभएको चामल, दाल र पिठोको नमूना संकलन गरिएको जानकारी दिनुहुँदै खाद्य निरीक्षक कोइरालाले भन्नुभयो, ‘मणि खाद्यान्न भण्डारमा अन्य ब्राण्डका चामलको तौल पूरा भए पनि जगत ब्राण्डका केही बोरामा २ सय देखि ३ सय ग्राम तौल कम रहेको पाइएको र चनाको दाल उपभोग गर्ने मिति गुज्रिसकेको पाइएकोले ती सामग्री भएको गोदाम सिल गरिएको छ ।’

संयुक्त अनुगमन समितिले अनुगमनका क्रममा पाइएको अवस्थाका आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने खाद्य निरीक्षक कोइरालाले बताउनुभयो । वैद्यनाथ खाद्यान्न सेन्टरमा भने कुनै किसिमको समस्या नपाइएको उहाँले बताउनुभयो ।

Exit mobile version