Home अर्थ/व्यापार थोक तरकारी बजार खुल्यो, तरकारी पर्याप्त आए पनि विक्री हुन सकेन, मूल्य...

थोक तरकारी बजार खुल्यो, तरकारी पर्याप्त आए पनि विक्री हुन सकेन, मूल्य सस्तियो

आज बिहान हेटौंडाको थोक तरकारी बजारमा विक्रीका लागि ल्याइएको तरकारी ।

हेटौंडाः हेटौंडाको थोक तरकारी बजार खुलेपछि किसानले बजारमा पर्याप्त तरकारी पठाएका छन् । किसानले पर्याप्त तरकारी पठाएपछि तरकारीको मूल्यमा गिरावट आएको छ । तरकारीको मूल्यसँगै विक्री पनि घटेको छ । आज बिहान हेटौंडाको तरकारी बजारमा अधिकांश तरकारीको मूल्यमा गिरावट आएको छ । स्थानीयको अवरोधका कारण तीन दिन तरकारी बजार बन्द रहेको थियो । आइतबार साँझ व्यवसायी र स्थानीयबीच तरकारी बजार खोल्ने सहमति भएका कारण सोमबार बिहान किसानले तरकारी पठाउन भ्याएका थिएनन् ।
हिजो साँझ किसानले पठाएसँगै आज बिहानबाट तरकारीको कारोबार सुरु भएको हो । आज बिहान हेटौंडाको थोक तरकारी बजारमा प्रतिकेजी काउली ८ रुपैयाँ, बन्द १५ रुपैयाँ, काँक्रो १५ रुपैयाँ, गोलभेँडा २५ रुपैयाँ, भ्यान्टा ८ रुपैयाँ, मूला १५ रुपैयाँ, बोडी ५० रुपैयाँ, मटरकोसा ५० रुपैयाँमा विक्री भएको छ । यस्तै प्रतिकेजी करेला ६० रुपैयाँ, घिरौंला ६० रुपैयाँ र रायोको साग प्रतिमुठा १५ रुपैयाँमा विक्री भएको छ । व्यवसायी बद्रि घिमिरेका अनुसार अधिकांश तरकारी चितवन र मकवानपुर जिल्लाभित्रकै रहेको छ । केही तरकारी धादिङ जिल्लाबाट पनि आएको छ । बन्दा, कांक्रो, गोलभेँडा, गाजर, बोडी, करेला चितवनबाट आएको छ भने भ्यान्टा, काउली, मटरकोसा, मुला, हरियो धनियाँ र साग मकवानपुर जिल्लाकै भएको व्यवसायी घिमिरेले बताउनुभयो ।
बजार खुले पनि व्यवसायीलाई बजारसम्म आउजाउ गर्न समस्या भएका कारण कम कारोबार भएको र किसानले बढी तरकारी पठाएको व्यवसायी गोविन्द दाहालले बताउनुभयो । थोक बजारमा तरकारीको मूल्य सस्तो भए पनि उपभोक्ताले भने बढी मूल्य तिर्न बाध्य छन् । अहिले ठेला मार्फत तरकारी वितरण भइरहेको छ । ठेलामा टोलटोलमा तरकारी पुर्याउने व्यवसायीले बढी मूल्यमा तरकारी विक्री गरिरहेका छन् । बिहान ९ बजेसम्म मात्रै कारोबार गर्न पाइने र थोक व्यापारीलाई मात्रै तरकारी विक्री गर्न पाउने गरी व्यवसायी र स्थानीयबीच थोक तरकारी बजार खोल्ने सहमति भएको छ ।

Exit mobile version