Home मुख्य समाचार कन्सर्टको तयारी अन्तिम चरणमा, नेपथ्यको टोली हेटौंडामा

कन्सर्टको तयारी अन्तिम चरणमा, नेपथ्यको टोली हेटौंडामा

हेटौंडाः मानवता प्रबर्द्धनको लागि हेटौंडाको भुटनदेवी चौरमा मंसिर २२ गते बिहीबार हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को तयारी अन्तिम चरणमा पुगेको छ । आन्तरिक तयारी पुरा भएको र फिल्ड तथा स्टेजको काम जारी रहेको मानव सेवा आश्रम हेटौंडाले जनाएको छ ।

वीरगञ्जको कार्यक्रम सकेर नेपथ्यका मुख्य गायक अमृत गुरुङसहितको टोली आज मंगलबार हेटौंडा आएको छ । नेपथ्यको प्राविधिक टोलीले स्टेज बनाउन सुरु गरेको र अन्य आवश्यक तयारी पनि तीब्र रुपमा अघि बढाएको छ । कन्सर्टमा मुख्य गायक अमृत गुरुङले लोक/पप गीतहरु प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको तयारी तीब्र भएको र टिकट विक्री करिब करिब सकिएको मानवसेवा आश्रम हेटौंडाले जनाएको छ ।

मानवता प्रबर्द्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तर्गत मकवानपुरको यो कार्यक्रम तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा आश्रम हेटौंडामा हाल १८ जना बालक, ३ जना बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ जना आश्रित छन् । कन्सर्ट मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।

अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको मुख्य कार्यालयका साथै अनलाइनबाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क एक हजार रुपैयाँ रहेको छ ।

Exit mobile version