हेटौंडाः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनावी नतिजाबारे मकवानपुरमा गठबन्धन दलले समीक्षा गर्ने भएको छ । गठबन्धन दलका जिल्ला संयोजक तथा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गठबन्धनले चुनावी नतिजाबारे समीक्षा गर्ने बताउनुभयो ।
गठबन्धनको बैठक अब केही दिनमा बस्ने सभापति लामाले बताउनुभयो । गठबन्धनको बैठकमा नेपाली कांग्रेस कसरी जाने भनेर अहिले पार्टीभित्र समीक्षा गरिरहेको उहाँले बताउनुभयो । उहाँले पार्टीभित्रै पनि कहाँ—कहाँ समीक्षा गर्ने भनी सोमबार कांग्रेसका पालिका सभापतिहरुसँग छलफल गरिएको बताउनुभयो ।
मकवानपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार उठाए पनि प्रतिनिधिसभातर्फ दुई वटै क्षेत्रमा र प्रदेशसभाअन्तर्गत् एक क्षेत्रमा गठबन्धनका उम्मेदवार पराजित भएका थिए । प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट साझा उम्मेदवार कांग्रेसकी सहमहामन्त्री समेत रहनुभएकी महालक्ष्मी उपाध्याय ‘डीना’ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको थियो । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ बाट गठबन्धनका तर्फबाट साझा उम्मेदवार एकीकृत समाजवादीका केन्द्रीय नेता तथा पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका विरोध खतिवडा नेकपा एमालेका महेश बर्तौलासँग पराजित हुनुभएको थियो । यस्तै, प्रदेशसभातर्फ भने गठबन्धनले १ (ख) मा मात्र पराजय भोग्नुपरेको थियो भने बाँकी क्षेत्रमा गठबन्धनकै उम्मेदवार विजयी भएका थिए ।
मकवानपुरमा गठबन्धन दल नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले चुनावी नतिजाबारे समीक्षासमेत गरेको थियो । एकीकृत समाजवादी मकवानपुरले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार पराजित हुनुमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाताको आकर्षण भएको निष्कर्ष निकालेको थियो । यस्तै, नेपाली कांग्रेस मकवानपुरले क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार पराजित हुनुमा पनि अहिले उम्मेदवारले नयाँदलको नेतृत्व चाहेको निष्कर्ष निकालेको थियो ।
