हेटौंडाः घरेलु टोली मकवानपुर क्रिकेट टिमले मैत्रीपूर्ण तीन खेलमा पाहुना टोली काठमाडौंलाई पराजित गरेको छ । सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको तेस्रो तथा अन्तिम टि–२० खेलमा काठमाडौं क्रिकेट टिमलाई ७ विकेटले हराउँदै तीनै खेलमा मकवानपुरले जित हासिल गरेको मकवानपुर त्रिकेट संघका कार्यवाहक सचिव बिनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । जसका लागि काठमाडौंका व्याट्सम्यान सचिन लेखकले अर्धशतकीय ५४ रन र सुवास खत्रीले ३४ रन बनाए । जवाफी व्याटिङ गरेको मकवानपुरले १ सय ४५ रनको लक्ष्य १७ ओभर १ बलमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । मकवानपुरलाई जित दिलाउन गौरव खड्काले ५२ रन, सुमन सुनुवार र राम नरेश गिरीले समान २४–२४ रन बनाएका थिए । मकवानपुरका रिजन ढकाल र राम नरेश गिरीले समान ३–३ विकेट लिए ।
यसअघिको एक दिवसीय दुई खेलमा मकवानपुरले काठमाडौंलाई पराजित गरेको थियो । सोमबारको टि–२० खेल जितेसँगै मकवानपुरले ट्रफि प्राप्त गरेको छ । मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले मकवानपुरका कप्तान सुमन सुनुवारलाई ट्रफि प्रदान गर्नुभयो ।
