Home खेलकुद मैत्रीपूर्ण क्रिकेट खेलमा मकवानपुरको दोस्रो जीत

मैत्रीपूर्ण क्रिकेट खेलमा मकवानपुरको दोस्रो जीत

मैत्रीपूर्ण खेलअघि मकवानपुर र काठमाडौंका टिम क्याप्टेन ।

हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट टिम र काठमाडौं क्रिकेट टिमबीच दोस्रो मैत्रीपूर्ण एकदिवसीय खेलमा पनि मकवानपुर क्रिकेट टिमले जीत निकालेको छ । आइतबार हेटौंडा–४, हुप्रचौरमा भएको खेलमा मकवानपुरले काठमाडौंलाई ३९ रनले हराएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले निर्धारित ३९ ओभरमा अलआउट हुँदै २ सय १९ रन बनायो । मकवानपुरलाई जित दिलाउन गोकुल अधिकारीले अर्धशतकीय ६९ रन, शुभ कंशाकारले ४१ रन र सुमन सुनुवारले २८ रन बनाए । मकवानपुरको बलिङतर्फ रिजन ढकालले ४ विकेट र राम नरेश गिरीले ३ विकेट लिएका थिए । मकवानपुरका कप्तानी सुमन सुनुवारले गरेका थिए ।

जवाफी व्याटिङमा उत्रिएको काठमाडौंले ३८.४ ओभरमा अलआउट हुँदै जम्मा १ सय ८० रन बनायो । काठमाठौंका लागि रोनिम तिवारीले अर्धशतकीय ५८ रन र सचिन लेखकले २५ रन बनाए । अरु व्याट्सम्यान भने खासै चल्न सकेनन् । काठमाडौं टिमका कप्तानी सचिन लेखकले गरेका थिए । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा मकवानपुरले काठमाडौंलाई ३३ रनले हराएको थियो ।

दोस्रो खेलमा जीत निकालेसँगै मकवानपुरले एक खेल अगावै तीन खेलको श्रृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलमध्ये दुई खेल जितेको मकवानपुरले शिल्ड प्राप्त गर्नेछ । यस्तै सोमबार पनि मकवानपुर र काठमाडौंबीच अन्तिम टि–२० खेल हुनेछ ।

Exit mobile version