Home मुख्य समाचार सूर्यको आराधनासहित अर्घ दिएर छठ पर्व मनाइँदै

सूर्यको आराधनासहित अर्घ दिएर छठ पर्व मनाइँदै

छठमा सूर्यलाई अर्घ दिँदै एक महिला । फाइल तस्विर ।

हेटौंडाः चार दिनसम्म मनाइने छठ पर्व शुक्रबारबाट सुरु भएको छ । सूर्य भगवानको उपासना गरी मनाइने छठ पर्वको विधि सुरू भएको हो । तराई मधेशको सबैभन्दा ठूलो पर्व छठ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

छठको पहिलो दिन शुक्रबार “नहाय–खाय” विधि सम्पन्न गरिएको छ । आफ्नो शरीर शुद्ध गर्न नुहाउने दिनलाई “नहाय–खाए” भनिन्छ । पहिलो दिन छठका ब्रतालुहरुले नुहाएर “अरबा अरबाइन” खान्छन् । छठको पहिलो दिन चतुर्थी तिथिबाट ब्रतालुहरुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी ब्रत सुरु गर्दछन् ।

छठको दोस्रो दिन आज शनिबार दिनभर उपवास रही रातिमा “खीर” बनाई भगवानलाई चढाएर ब्रतालुहरु खिर खाने परम्परा छ । अरबा चामलबाट बनेको खिर खाने विधिलाई “खरना” भनिन्छ । छठको दोस्रो दिन पञ्चमी तिथिका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरुले दिनभर निर्जला व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खिर अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।
छठको मुख्य दिन आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । पोखरी, तलाउ, नदी, कुवालगायतमा तयार पारिएको छठ घाटमा ब्रतालुहरु जम्मा भई सूर्य भगवानको पूजा आराधनासहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको मान्यता रहेको छ ।

कार्तिक शुक्ल षष्ठी अर्थात् छठको मुख्य दिन गहुँ र चामलको पिठोबाट विभिन्न प्रकारका गुलिया खानेकुरा बनाइन्छ । यसै दिन अन्नबाहेक फलफूल, ठेकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखेर परिवारका सदस्यहरु जलाशयमा जाने गर्दछन् । ब्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।

ठको अन्तिम दिन कार्तिक शुक्ल सप्तमीको बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ । बिहानीको अर्घ दिइसकेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई “पारन” भनिन्छ । छठ पर्वमा प्रायः महिलाले ब्रत बस्ने भए पनि पुरुषले पनि उनीहरुलाई सहयोग गर्नुपर्ने भएकाले सँगै ब्रत बस्ने गर्दछन् । छठको मुख्य दिन प्रायः पुरुषहरुले पूजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन् ।

छठ पर्वमा सूर्यको उपासना गर्नाले सन्तान, निरोगिता, सुख, समृद्धि प्राप्ति र चर्मरोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । खासगरी मिथिला क्षेत्रमा लोकप्रिय छठ पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउने गरिएको छ । हेटौंडामा पनि छठ पूजाको लागि राप्ती खोलाको तटमा छठको घाट तयार पारिएको छ ।
छठको लागि विशेषगरी तराई मधेशका नदी, पोखरी, तलाउको किनारमा छठको घाट तयार गरिन्छ । हप्तौं अघिदेखि विशेष सरसजावट गरेर छठ पूजास्थल तयार गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा र अन्य सामग्रीको बन्दोबस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

Exit mobile version