छतिवन (बकैया)ः मकवानपुरको बकैया गाउँपालिकाले ’झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को तदर्थ समिति गठन गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरको चौथो अधिवेशनको अवसरमा प्रतिष्ठान तदर्थ समिति गठन गरेको हो । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको समेत उपस्थितिमा झरना साहित्यिक परिवार मकवानपुरका निवर्तमान अध्यक्ष दीपक गौतमको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
मकवानपुरका १० वटा पालिका मध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका हो । तदर्थ समितिको सदस्यमा विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, मसान उपासक, कृष्ण घतानी, सन्तराम राई, शुभलक्ष्मी प्रभा र कुमार स्याङ्बो रहनुभएको छ । तदर्थ समितिमा बकैया गाउँपालिकाको एकजना कर्मचारी र ३ जना सदस्य गाउँपालिकाका अध्यक्षले मनोनित गर्ने तदर्थ समितिका संयोजक दीपक गौतमले जानकारी दिनुभयो ।
बकैया गाउँपालिकाले २०७८ साल चैत १० गतेको कार्यपालिका बैठकबाट झरना–बकैया वाङ्मय प्रतिष्ठानको कार्यविधि २०७८ पारित गरेको थियो । तदर्थ समितिका संयोजक गौतमले कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने बताउनुभयो । पालिकामा साहित्यिक क्रियाकलापको नेतृत्व झरना साहित्यिक परिवारले नै गरेकोले झरनासँगै सहकार्य गरेर पालिकाले प्रतिष्ठान गठन गरेको गौतमले बताउनुभएको छ । झरनालाई नै प्रतिष्ठानमा रुपान्तरण गर्ने कि झरनालाई कायमै राखेर प्रतिष्ठान गठन गर्ने भन्ने विषयमा छलफल चलिरहेको गौतमले बताउनुभएको छ ।
