Home मुख्य समाचार पुस्तकालय दिवसमा अन्तरक्रियाः पठन संस्कृतिको विकासका लागि पुस्तकालय आवश्यक

पुस्तकालय दिवसमा अन्तरक्रियाः पठन संस्कृतिको विकासका लागि पुस्तकालय आवश्यक

पुस्तकालय दिवसको दिन बुधबार सबैभन्दा पहिले पुस्तकालय पुग्नुभएका जनाद्र्धन खनाललाई पुस्तक उपहार दिइँदै ।

हेटौंडाः पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुष्पलाल स्मृति पुस्तकालयले अन्तरक्रियाको आयोजना गरेको छ । हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयको व्यवस्थापन गर्दै आएको साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा बुधबार अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा सहभागीले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको आवश्यकता औँल्याएका छन् । पठन संस्कृतिको अभावले पुस्तकालयको प्रयोग हुन नसकेको जीकिर गर्दै सहभागीले पठन संस्कृतिको विकासकै लागि पुस्तकालयले विविध क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका छन् । अन्तरक्रियामा साहित्य संगम मकवानपुरका सचिव एवम् पुष्पलाल स्मृति पुस्तकालय व्यवस्थापन समितिका प्रमुख डीबी बर्तौलाले पुष्पलाल स्मृति पुस्तकालयको सन्चालनको अवस्थाका विषयमा जानकारी गराउनु भएको थियो ।

वडाध्यक्ष सुशील घिमिरेले पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुस्तकालय सञ्चालन र व्यवस्थापनमा उचित योजना बनाएर पुस्तकालय सञ्चालनमा वडाले सक्दो सहयोग गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । साहित्यकार दीपक गौतमले घर, विद्यालय र समुदायमा पुस्तकालय हुनुपर्ने बताउनुभयो । पठन संस्कृतिको विकासका लागि पुस्तकालय जरुरी रहेको औँल्याउनुहुँदै गौतमले पुस्तकालयले पाठकलाई आकर्षिकत गर्ने गरी विविध क्रियाकलाप गर्न सुझाव दिनुभयो ।

पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले पठन संस्कृतिको विकासका लागि पुस्तकालयमा विशेषगरी विद्यालय तहका बालबालिकालाई आकर्षित गर्नुपर्ने सुझाव दिनुभयो । पढ्नुपर्ने आवश्यकतालाई बुझेका सचेत समूहले नै पुस्तकालयमा पढ्ने प्रचलन नभएका कारण पुस्तकालयको आवश्यकतालाई बेवास्ता गरिरहेको श्रेष्ठले उल्लेख गर्नुभयो । घर, परिवारका सबै सदस्यले नियमित पढ्ने बानीको विकास गर्न सके नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न सकिने श्रेष्ठको भनाइ थियो ।

साहित्यकार चिरन्जीवी लामिछानेले पाठकको मागअनुसार पुस्तकालयकामा पुस्तकको व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । सेवा निवृत्त शिक्षक समेत रहनुभएका साहित्यकार रमेशमोहन अधिकारीले संगमकै पदाधिकारी, सल्लाहकार, सदस्यले पुस्तकालयको प्रयोग कति गर्र्छन् ? भनी प्रश्न गर्नुका साथै साहित्य संगम र पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीको अध्ययन गर्ने र अरुलाई पनि अध्ययनका लागि प्रेरित गर्ने अवस्था रहनुपर्ने बताउनुभयो । पाठकको मागअनुसार पुस्तक उपलब्ध गराउन सक्नुपर्नेमा अधिकारीले जोड दिनुभयो । हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्पण पराजुलीले पुस्तकालयको उद्देश्य चेतनाको बीज छर्नु रहेको बताउनुभयो । पुस्तकालयलाई परम्परागत ढाँचामा सन्चालन गर्नु पर्याप्त नहुने उल्लेख गर्नुहुँदै इ–पुस्तकालयको विकास गर्नुपर्ने सुझाव दिनुभएको छ ।

सेवानिवृत शिक्षक विष्णुप्रसाद गौतमले विद्यार्थीमा पुस्तकालय प्रयोगको अवधारणा र अभ्यास नै नभएको बताउनुभयो । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले नवप्रतिभा, नयाँ विद्यार्थीलाई लक्षित गरी उनीहरुलाई पुस्तकालय प्रयोगमा आकर्षित गर्नुपर्ने बताउनुभयो । पाठकलाई पुरस्कृत गरेर पनि पुस्तकालयमा आकर्षित गर्न सकिने उहाँले सुझाव दिनुभयो । सेवानिवृत्त शिक्षक जनाद्र्धन खनालले आफू पुस्तक नभई बस्न नसक्ने बताउनुभयो । बालबालिकालाई पढ भन्नुभन्दा सँगै पढ्न बसे बालबालिकाले पढ्ने खनालले बताउनुभयो ।

पुष्पलाल स्मृति पुस्तकालय व्यवस्थापन समितिका सदस्य सुदर्शन अधिकारीले पुस्तकालय स्थापना र सन्चालन गर्न सहज भए पनि पुस्तकालयको प्रयोग गर्ने, पठन संस्कृतिको विकास गर्ने काम चुनौतिपूर्ण रहेको बताउनुभयो । पाठकलाई प्रोत्साहित गर्नु जरुरी रहेको पनि अधिकारीले औँल्याउनुभयो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले बजेटको अभावमा पाठकले खोजी गर्ने पुस्तक उपलब्ध गराउन नसकेको बताउनुभयो । पठन संस्कृतिको विकास गर्न नसकिरहेको पनि न्यौपानेले स्वीकार गर्नुभएको छ । पुस्तकालय दिवसको दिन सबैभन्दा पहिले पुस्तकालयमा प्रवेश गर्नुभएका जनाद्र्धन खनाललाई पुस्तकालयले पुस्तक र मायाको चिनोसहित सम्मान गरेको थियो ।

Exit mobile version