Home अन्तरवार्ता सार्वजनिक क्याम्पसमा परस्पर विरोधी स्वार्थहरु हुन्छन्

सार्वजनिक क्याम्पसमा परस्पर विरोधी स्वार्थहरु हुन्छन्

युवराज गिरी पूर्वक्याम्पस प्रमुखः मकवानपुर बहुमुखी क्याम्पस

लामो समयदेखि मकवानपुर क्याम्पसमा अर्थशास्त्र पढाउँदै आउनुभएका युवराज गिरी अहिले सेवा निवृत्त हुनुभएको छ । केही वर्ष मकवानपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीसमेत निर्वाह गर्नुभएका गिरी आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । अर्थशास्त्रको व्यावहारिक पक्ष, क्याम्पस प्रमुख हुँदाको अनुभव, विद्यार्थी तथा क्याम्पसका विविध विषयमा पूर्वक्याम्पस प्रमुख गिरीसँग गरिएको कुराकानीः

समाजः लामो समय अध्यापनपछि अवकाश हुनुभएको छ, हाल के गर्दै हुनुहुन्छ ?

गिरीः म अर्थशास्त्रकै विद्यार्थी भएकाले मैले क्याम्पसमा पनि लामो समयसम्म म्यानेजमेन्ट फ्याकल्टीतर्फ अर्थशास्त्र विषय नै अध्यापन गराएँ । अर्थशास्त्र मेरो सानैदेखि रुचिको विषय भएको हुनाले अवकाशपछि पनि म अर्थतन्त्र तथा अर्थशास्त्रसम्बन्धी पुस्तकहरु र साहित्यहरुको अध्ययनमा लागिरहेको छु ।

समाजः विद्यार्थीहरुले समग्रमा अर्थशास्त्र विषय पढेर कस्तो खालको फाइदाहरु लिन सक्छन् ?

गिरीः अर्थशास्त्र मानव जीवनको एउटा अभिन्न अंगजस्तै हो । औपचारिकरुपमा अर्थशास्त्र अध्ययन गर्र्ने र नगर्ने सबैले अर्थशास्त्रको सिद्धान्तअनुसार नै व्यवहार गरिरहेका हुन्छन् । अर्थशास्त्र नपढेको हाम्रा पुर्खाहरुले पनि जानेर वा नजानेर अर्थशास्त्रको विभिन्न सिद्धान्तहरु उपयोग गर्नुभएको थियो । दैनिक जीवन सञ्चालनका निम्ति आर्थिक क्रियाकलापहरु महत्वपूर्ण हुने भएकाले अर्थशास्त्र मानव जीवनको लागि अति उपयोगी विषय हो । त्यसकारण अर्थशास्त्र मानव जीवनको अभिन्न अंग हो भन्दा फरक नपर्ला । हामी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई औपचारिकरुपमा अर्थशास्त्रका सिद्धान्तहरु, दैनिक जीवनमा यसका प्रयोग, व्यावसायिक क्षेत्रमा यसको सिद्धान्त र विधिको प्रयोग आदि बारेमा अध्यापन गराउँछौं । त्यसैले आजको यो प्रतिस्पर्धात्मक व्यावसायिक युगमा विद्यार्थीहरुलाई खासगरी व्यावसायिक क्षेत्रहरुमा आर्थिक सिद्धान्त, आर्थिक विधि तथा नियमहरुको प्रयोगबारे जान्न अर्थशास्त्र विषय एकदम महत्वपूर्ण रहेको छ ।

समाजः तपाईंको अध्यापनकालको विद्यार्थीहरु र अहिलेको विद्यार्थीहरुमा कस्तो अन्तर पाउनुभएको छ ?

गिरीः पहिलेका विद्यार्थीहरु र अहिलेका विद्यार्थीहरुमा तुलना गर्नुपर्दा विद्यार्थीहरुमा हुनुपर्ने अनुशासनमा भिन्नता पाएको छु । कक्षाकोठामा बस्दा वा विद्यालय क्षेत्रभित्र जति अनुशासन पहिलाका विद्यार्थीहरुमा थियो, अहिलेका विद्यार्थीमा त्यति अनुशासन पाइएको छैन । त्यसैगरी विषयवस्तुको अध्ययनप्रति जुन लगाव, मिहिनेत गर्ने प्रवृत्ति थियो, त्यो प्रवृत्तिको चाहिँ अहिले कमी पाइएको छ । त्यसैले गर्दा शिक्षकहरुलाई पनि त्यस्ता विद्यार्थीहरुलाई विषयवस्तुप्रति समर्पित बनाउन र त्यसप्रति रुचि जगाउन धेरै कठिनाइको अवस्था छ ।

समाजः तपाईं प्रशासकीय भूमिकामा रहँदाको अनुभव कस्तो रह्यो ?

गिरीः मकवानपुर बहुमुखी क्याम्पस एउटा सार्वजनिक क्याम्पस हो । यस्ता सार्वजनिक क्याम्पसमा अन्य कुनै निकायबाट आर्थिक सहयोग प्राप्त नहुने भएकाले क्याम्पसको प्रमुख स्रोत साधन भनेको नै विद्यार्थीहरुबाट जम्मा हुने शुल्क हो । यस्ता क्याम्पसमा सरकारी निकायबाट भौतिक पूर्वाधार निर्माणको निम्तिमात्र थोरै सहयोग प्राप्त हुन्छ । त्यसकारण हाम्रोजस्तो सार्वजनिक क्याम्पस सञ्चालनका निम्ति आर्थिक व्यवस्थापनसम्बन्धी एउटा ठूलो चुनौती रहेको छ । किनकि सार्वजनिक क्याम्पसमा बढी मात्रामा परस्पर विरोधी स्वार्थहरु हुन्छन् । यहाँ समुदायको स्वार्थ क्याम्पसले निजी संस्थाले जस्तो स्तरीय शिक्षा प्रदान गरोस् भन्ने हुन्छ । सरकारी विद्यालयमा जस्तै सस्तोमा क्याम्पसले शिक्षा प्रदान गरोस् भन्ने स्वार्थ विद्यार्थीको हुन्छ र सरकारी संस्थाहरुमा जस्तै तलब सेवासुविधा प्राप्त गरौं भन्ने स्वार्थ शिक्षक कर्मचारीको हुन्छ । यी स्वार्थहरुबीचमा तालमेल मिलाउन धेरै गाह्रो हुन्छ । त्यसैगरी यस्ता सार्वजनिक संस्थाहरुमा विद्यार्थी र राजनीतिक दलका नेताहरुले धेरै राजनीति गर्ने भएकाले एउटा प्राज्ञिक व्यक्ति प्रशासनमा बसेर क्याम्पसलाई दिगो ढङ्गले सञ्चालन गर्ने सोचअनुसार चल्न खोज्दा अनेक समस्याहरु सामना गर्नुपर्छ । यस्ता समस्याहरु देशभरिका सार्वजनिक तथा सरकारी संस्थाहरुमा हुने भएकाले एउटा इमान्दार प्राज्ञिक नेतृत्वले सही ढङ्गले क्याम्पस सञ्चालन गर्न धेरै गाह्रो हुने अनुभूति मैले गरेको छु ।

समाजः विद्यार्थी संगठन, विद्यार्थी नेता, प्राज्ञिक व्यक्तिहरुलगायत राजनीतिमा लागेका विद्यार्थीहरु र शिक्षक कर्मचारीहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

गिरीः सर्वप्रथम, सार्वजनिक क्याम्पसहरु नितान्त जनताको योगदानको भरमा जनताकै निम्ति सञ्चालन भएको हुन्छ भन्ने कुरा सम्पूर्ण समाजसेवी, राजनीतिकर्मी, विद्यार्थी नेता र विद्यार्थीहरुले बुझ्न जरुरी छ । क्याम्पसमा केही बेथिति र अनियमितताहरु भएमा विधिसम्मत् ढङ्गले समाधान गरेर एउटा निष्कर्षमा पुग्न सकिन्छ । हाम्रो समाजमा समाजले नै निर्माण गरेको, समाजकै लागि निर्माण भएको शैक्षिक धरोहरलाई हामीले अनुशासित र विधिगत ढङ्गले अगाडि बढाउनुपर्छ र समाजलाई योगदान पुर्याउन सक्ने अवस्थामा पुर्याउनुपर्छ भन्ने कुरा सम्पूर्ण समाजका अगुवाहरु, विद्यार्थी नेताहरु, राजनितिक दलका नेताहरु सबैले बुझ्नका लागि सल्लाह दिन चाहन्छु । विभिन्न असन्तुष्टि र अनियमितता भएमा आन्दोलन, तोडफोड तथा तालाबन्दी नगरी सम्पूर्ण पक्षको समझदारीमा एउटा निष्कर्षमा पुग्नुपर्छ । यस्ता तोडफोड तथा आन्दोलन समस्याको समाधान होइन भन्न चाहन्छु ।

Exit mobile version