हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसबाट अनिवार्य अवकास पाउनुभएका पूर्व क्याम्पस प्रमुख युवराज गिरीले क्याम्पसको आर्थिक सुशासनमा जोड दिनुभएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघले शुक्रबार बिहान आयोजना गरेको विदाई कार्यक्रममा गिरीले २८ वर्ष लामो सेवा अवधिमा शिक्षण पेशाबाट पूर्वपश्चिम जहाँ पुग्दा पनि विद्यार्थी भेट्ने र उनीहरुले गर्ने सम्मान ठूलो उपलब्धी भएको बताउनुभयो ।
क्याम्पसको संस्थागत विकास, शैक्षिक विकासमा योगदान पुर्याउन सफल भएकोमा गर्व लागे पनि क्याम्पस प्रमुख हुँदा सर्वहारा वर्गको नेतृत्व गरेको भनिएका विद्यार्थी संगठनले मकवानपुर छोड भनेर नारा लगाएको घटनाले आफूलाई दुखी तुल्याएको बताउनुभयो । अर्थशास्त्रमा स्नात्तकोत्तर तहको अध्ययन पूरा भएपछि पहिलो प्रयासमै मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापनको अवसर पाए पनि मकवानपुर नआउने कि भन्ने लागेको स्मरण गर्नुहुँदै अभिभावकको सल्लाहमा पहिलो अवसरलाई सदुपयोग गर्न आएको बताउनुभयो । मकवानपुर क्याम्पसमा आएर केही समय काम गरिसकेपछि छोड्न पनि नसकेको उहाँले उल्लेख गर्नुभयो ।
क्याम्पसमा रहेर अध्यापन गर्नुका साथै क्याम्पसको संस्थागत विकासका लागि विधान बनाउने काममा पनि आफ्नो भूमिका रहेको स्मरण गर्नुहुँदै गिरीले भन्नुभयो, ‘म क्याम्पस प्रमुख बन्दिनँ भन्दा भन्दै पनि जिम्मेवारी सम्हाल्न बाध्य भएँ । क्याम्पसको नेतृत्व मात्रै नभई सरोकारवाला सबै विवेकशील हुनुपर्छ ।’ पछिल्लो नेतृत्वले क्याम्पसलाई सुधारको बाटोमा अग्रसर गराएको उहाँले स्पष्ट पार्नुभयो ।
पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष केशव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले युवराज गिरी सरको निष्ठा, इमानदारिता र योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि गिरी सरको दक्षता र क्षमतालाई विज्ञको रुपमा उपयोग गरिने बताउनुभयो ।
जिल्ला शिक्षा समितिको संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले २०५७ सालमा आफू पनि प्रविणता प्रमाणपत्र तहको विद्यार्थी भएर मकवानपुर क्याम्पसमा प्रवेश गर्दा गिरी सरको सदगीपन देख्न पाएको उल्लेख गर्नुभयो । भीडबाट प्रभावित नभई आफ्नो सिद्धान्त र आदर्शमा अडिग रहन सक्नु गिरी सरको क्षमता भएको पनि उहाँको भनाइ थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले युवराज गिरी सरले पढाउने विषयमा कलेजमा कहिल्यै कुनै किसिमको गुनासो सुन्न नपरेको उल्लेख गर्नुभयो । गिरी सरबाट पेशप्रतिको इमानदारिता र तत्परता अरुले पनि सिक्नुपर्ने क्याम्पस प्रमुख उपाध्यायको भनाइ थियो । शुक्रबार बिहान आयोजित कार्यक्रममा अनिवार्य अवकास पाउनु भएका कर्मचार सरोज न्यौपाने र अध्ययनका लागि क्यानडा जाने क्रममा क्याम्पसबाट राजिनामा दिनुभएका सहायक प्राध्यापक ललित तिमल्सिनालाई पनि विदाई गरिएको छ ।
