हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध डाईजेपाम र २६ बोतल वनरेक्ससहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
बुधबार साँझ ७ बजेको समयमा लागू औषध डाईजेपाम समेत बिक्रि बितरण गरी रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा १३ पदमपोखरीका निक्मा लामालाई पक्राउ गरेको हो । प्रहरीले २३ वर्षीय निक्मा लामाको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल लागुऔषध डाईजेपाम फेला पारेको थियो । प्रहरीले लागुऔषधसहित लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, बिहीबार बिहान १० बजेर ४० मिनेटमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ स्कुलरोड स्थित पैदल हिँडिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ । हेटौंडा १० घर भई हाल हेटौंडा ८ बस्ने ३१ वर्षीय राजेश बि.क. र गढी गाउँपालिका–७ घर भई हाल हेटौंडा–५ बस्ने २६ वर्षीय मानविर थिङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध वनरेक्स २६ बोतल फेला पारेको थियो । लागुऔषध वनरेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
