हेटौंडाः अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा एमाले र एमाले सम्बद्ध मजदुर संगठनको संयुक्त आयोजनामा हेटौंडाको हुप्रचौरमा हुने आम सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार हेटौंडा आउँदै हुनुहुन्छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आयोजित सभामा नेकपा एमालेले ४० हजार मानिस हुप्रचौरमा उतार्ने दावी गरेको छ ।
प्रेस चौतारी मकवानपुरले शनिबार नेकपा एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मजदुर दिवसको अवसरमा आयोजना हुने सभाका बारेमा जानकारी गराएको थियो । आम सभाको विषयमा जानकारी दिनुहुँदै नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएको आम सभामा उल्लेख्य संख्यामा प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गर्ने बताउनुभयो ।
जिल्लाका सबै पालिकाबाट आमसभामा पार्टीका नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । हेटौंडा उपमहानगरका विभिन्न स्थानबाट र्याली निक्लिएर हुप्रचौरमा पुगेपछि सभामा परिणत हुनेछ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले शानदार जीत हासिल गर्ने दावी गर्नुहुँदै नेता, कार्यकर्ताको मनोबल बढाउने गरी आमसभाको आयोजना गरिएको अध्यक्ष एकालाल श्रेष्ठको भनाइ छ । पार्टी अध्यक्षकै सम्बोधनले नेता, कार्यकर्तालाई उर्जा प्राप्त हुने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जिल्ला अध्यक्ष श्रेष्ठले मकवानपुरका १० वटा पालिकाका प्रमुख, उपप्रमुख, १ सय २ वटा वडाका अध्यक्ष र सदस्यमा गरी नेकपा एमालेबाट ५ सय ४० जनाको उम्मेदवारी दर्ता भएको र नेकपा एमालेका उम्मेदवारले मकवानपुरमा जितेर अगाडि बढ्ने बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले दुई तिहाईको सरकार विघटन पछि बनेको सरकारले राज्यको अंगलाई विफल तुल्याउने प्रयास गरिरहेको बताउनुभयो । सत्तारुढ दलले प्रतिपक्षी दलविरुद्ध गठबन्धन गर्नु विश्वकै दुर्लभ घटना भएको जीकिर गर्नुहुँदै रानाले सत्तारुढ दलको गठबन्धन जनादेश विपरित भएको उल्लेख गर्नुभयो । सत्तारुढ दलबीचको गठबन्धनले मुलुकलाई उज्यालो भविष्यतर्फ डो¥याउन नसक्ने उहाँको दावी छ ।
यस्तै नेकपा एमालेका सल्लाहकार एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले चुनाव जित्ने आधारसहित उम्मेदवार निश्चित गरिएकोले स्थानीय तहको निर्वाचनमा एमालेको नतीजा शानदार रहने दावी गर्नुभयो । नयाँ अनुहारमा नयाँ पुस्ता र पुराना लोकप्रिय अनुहारलाई उम्मेदवार बनाइएको पनि पौडेलको भनाइ थियो । उम्मेदवार छनोटको विषयमा पार्टी अध्यक्ष एकालाल श्रेष्ठले काम भएकै कारण केही उम्मेदवारको आलोचना भएको र केही आलोचना भए पनि अनुभवका आधारमा आगामी दिनमा कमिकमजोरी सच्याएर अगाडि बढ्ने बताउनुभयो । जनताका अपेक्षा धेरै हुनुले पनि केही असन्तुष्टि देखिएको दावी गर्नुहुँदै केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला कमिटीका इन्चार्ज रामेश्वर रानाले जनताका जिज्ञासा, प्रश्न र गुनासालाई स्वीकार्दै, सुधारिएर अगाडि बढ्ने बताउनुभयो ।
