अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका मजुदरका लागि ठूलो पर्व हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनले प्राप्त गरेको सफलतालाई विश्वका मजुदरहरुले उत्सवका रुपमा मनाउने गर्दछन् । मजदुरको आन्दोलन दबाउने उद्देश्यबाट भएको विष्फोटमा केही मजदुरको मृत्यु भए पनि उनीहरुका माग पूरा भएको दिनलाई विश्व मजदुर आन्दोलनको ऐतिहासिक दिनका रुपमा लिने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । सन् १८९० देखि हरेक वर्ष अँग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु भएको हो ।
मजदुरहरुका अनेक समस्या छन् । विशेषगरी कारखानामा काम गर्नेहरुको दृष्टिबाट श्रमिक दिवस मनाइए पनि अन्य क्षेत्रका श्रमिकहरुका पक्षमा अझै पनि आवाज बुलन्द हुन सकेको छैन । विश्वमा कारखानाबाहेकका क्षेत्रमा पनि करोडौं मजदुर छन् । तर उनीहरु संगठित हुन नसक्दा दवाव दिन सक्नेगरी आवाज उठ्न सकेका छैनन् । मजदुरका हक अधिकारका लागि सरकार र रोजगारदातालाई दवाव दिइरहनुपर्ने विश्वकै राज्यको चरित्र देखिन्छ । कुनै पनि देशका शासकहरुले दवावबिना मजदुर वर्गका माग सम्बोधन गर्ने वा उनीहरुको अधिकार संरक्षणका लागि काम गरेको पाइँदैन । त्यसैले श्रमिक दिवस त्यही दवावका रुपमा मनाउँदै आएको छ । मालिक र मजदुरबीचको सम्बन्ध र दुरी कायम राख्नका लागि यस्ता दिवसहरु उपयोग गरिनु पर्दछ ।
आफ्ना अधिकारका लागि मजुदरहरु एकै ठाउँमा उभिनु आवश्यक छ । तर शासक वा पुँजीपति वा लगानीकर्ताले उनीहरुलाई आफ्नो स्वार्थअनुसार उपयोग गर्ने गरेका छन् । मजदुरहरु पनि सानोतिनो स्वार्थमा लोभिँदा आपसमा विभाजित छन् । नेपालमा मजदुरका फरक फरक संगठन छन् । समस्या र माग एउटै भए पनि एकै ठाउँमा उभिएर दवाव दिन किन सक्दैनन् भन्ने प्रश्न छ । दलहरुले आफ्नो स्वार्थअनुसार मजदुरहरुलाई राजनीतिकरण गराएका छन् । नेपाली मजदुर आन्दोलन दलीय स्वार्थका लागि मात्र उपयोग हुँदा समस्याको ठोस सम्बोधन हुन सकेको छैन । नाना, खाना र छानाका समस्यादेखि सेवा सुविधाका लागि सम्बन्धित पक्षमाथि गर्नुपर्ने दवाव दलीय आस्थाका आधारमा विभाजित हुँदा श्रमको उचित मूल्य पाउन सकिरहेका छैनन् ।
श्रमिकका अधिकारमात्र संरक्षण गरेर पुग्दैन । पुँजीपतिको उचित संरक्षण नभएमा श्रम गर्ने ठाउँ नै हुँदैन । बोट मास्ने हैन कि, त्यसको संरक्षण गरेमात्र फल खान पाइन्छ भन्ने मान्यताबाट श्रमिकहरुले चिन्तन गर्नु पर्दछ । यसको अर्थ श्रमको उचित मूल्य नपाउँदा पनि मालिकको मुनाफाका लागि मात्र काम गर्नुपर्ने भन्ने हुँदैन । श्रमिक र मालिकबीच नङ र मासुको सम्बन्ध रहनु पर्दछ । एकले अर्कोको सम्मान र सहअस्तित्व स्वीकार गर्न सक्ने हो भने आज देखिएका यावत समस्याको समाधान सहजै हुन सक्छन् । मजदुरको श्रमका आधारमा विश्व बजारको मूल्य निर्धारण हुँदै आएको छ । गौरवशाली शक्ति श्रमिकले उचित मूल्य कसरी पाउने भन्ने कोणबाट बहस आजको आवश्यकता हो ।
