Home मुख्य समाचार साधारणतर्फको एसईई सकियो

साधारणतर्फको एसईई सकियो

फाइल तस्वीर ।

हेटौंडाः साधारणतर्फ २०७८ सालको विद्यालय शिक्षा परीक्षा (एसईई) सकिएको छ । शनिबार ऐच्छिक द्वितीय विषयको परीक्षा सकिएसँगै साधारणतर्फ एसईई सकिएको हो । बैशाख ९ गतेबाट एसईई सुरु भएको थियो । प्राविधिकतर्फको एसईई भने बैशाख २० गतेसम्म चल्नेछ । साधारणतर्फको उत्तरपुस्तिका परीक्षणका लागि सोमबारसम्ममा परीक्षा नियन्त्रण कार्यालयले तोकेको जिल्लामा पठाइने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

हेटौंडास्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूल र थाहा नगरपालिकास्थित मत्स्यनारायण माविमा प्राविधिक एसईईको परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुर जिल्लाका ९ वटा विद्यालयबाट एसईईमा प्राविधिक धारका विद्यार्थी सहभागी भइरहेका छन् । यस बर्षको एसईई परीक्षा सदा झैं सहज र सौहाद्र्ध वातावरणमा सम्पन्न भएको पौडेलले बताउनुभयो । परीक्षा सञ्चालन तथा व्यवस्थापनमा कुनै किसिमको असहजता व्यहोर्नु नपरेको उहाँको भनाइ थियो ।

२०७८ सालको एसईईमा सहभागी हुन मकवानपुर जिल्लामा नियमिततर्फ ७ हजार १ सय २४ जनाले फारम भरेका थिए । यस्तै ग्रेड वृद्धिका लागि १४ जनाले फारम भरेका थिए । परीक्षा फारम भरेका मध्ये साधारणतर्फ २१७ र प्राविधिकतर्फ ४ गरी २ सय २१ जना परीक्षामा सहभागी भएनन् । परीक्षामा सहभागी नहुनेमा छात्र ९८ र छात्रा १ सय २३ छन् । परीक्षा फारम भरेकामध्ये छात्र ३ हजार ३ सय २२ र छात्रा ३ हजार ६ सय २० गरी ६ हजार ९ सय ४२ विद्यार्थीले परीक्षा दिएका छन् । नियमिततर्फ साधारण एसईईमा सहभागी हुन ६ हजार ८ सय ८० जनाले फारम भरेका थिए भने प्राविधिकतर्फ २ सय ४५ जनाले परीक्षा फारम भरेका थिए । प्राविधिकतर्फ १ सय ३२ छात्र र १ सय ९ छात्रा परीक्षामा सहभागी छन् ।

मकवानपुर जिल्लामा एसईईका लागि २४ वटा केन्द्र निर्धारण गरिएको थियो । मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै परीक्षा केन्द्र तोकिएको थिएन । सुरक्षा व्यवस्था, विद्यार्थी संख्यालगायत विविध कारणले दुई वटा पालिकामा परीक्षा केन्द्र निर्धारण गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाईको भनाइ छ । यता अभिभावक तथा विद्यार्थी भने पालिकाभन्दा बाहिर निर्धारण गरिएको परीक्षा केन्द्र पुगेर परीक्षा दिनुपर्दा समस्या हुने गरेको बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत पौडेलका अनुसार अभिभावक र विद्यार्थीको गुनासाका आधारमा अर्को बर्ष सरोकारवाला निकायबीच आवश्यक समन्वय गरेर राक्सिराङ र कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण गर्ने प्रयास हुनेछ ।

Exit mobile version