Home मुख्य समाचार महिलाहरुमा फिस्टुला देखिनु कारणः सामाजिक लैंगिक विभेद

महिलाहरुमा फिस्टुला देखिनु कारणः सामाजिक लैंगिक विभेद

हेटौंडाः सामाजिक लैंगिक विभेदका कारण महिलाहरुमा शारीरिक, मानसिक, सामाजिक, यौनिक तथा आर्थिकरुपले विभिन्न किसिमका समस्याहरु देखिएका छन् । लैंगिक विभेदकै कारण महिलाहरु हिंसा, लाञ्छना र पीडा सहन बाध्य रहेका छन् ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मातृमृत्यु, बालमृत्यु, रक्तअल्पताका समस्याका साथै विभिन्न प्रकारका हिंसाका कारण महिलाको स्वास्थ्यमा बहुपछीय असर परेको पाइन्छ । महिलाहरुमा अनिच्छित गर्भधारण र गर्भपतन, यौनरोग, पाठेघर खस्ने, फिस्टुलाजस्ता स्वास्थ्य समस्याहरु जटिलरुपमा रहेका छन् । प्रत्येक महिलाका लागि महिलाको दृष्टिकोणबाट गुणस्तरीय स्वास्थ्य सेवाका साथै स्वास्थ्यमा प्रभाव पार्ने निर्धारकहरुमा पहुँच हुनु नै महिला स्वास्थ्य अधिकार हो । तर सामाजिक मूल्य मान्यता, भूमिका, परम्परागत सोच, स्रोत साधनमाथिको पहुँच र नियन्त्रणको अभाव, पितृसत्तात्मक संरचनाले गर्दा महिलामाथि विभिन्न किसिमका हिंसा र विभेद हुने गर्दछ ।

यस्तै हिंसा र विभेदको उपज महिलाहरुमा निरन्तर भइरहने समस्या फिस्टुला हो । विशेषज्ञहरुका अनुसार फिस्टुला भनेको योनीबाट निरन्तररुपमा पिसाब वा दिशा–पिसाब दुबै चुहिने समस्या हो । बच्चा जन्माउने क्रममा लामो ब्यथा (८ देखि १२ घण्टाभन्दा लामो) हुँदा बच्चाको टाउको योनीमार्गमा धेरै समयसम्म रहने कारण टाउकाले थिचेको योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुन्छ । यसरी रक्तसञ्चार बन्द भएको भाग विस्तारै मर्दै जान्छ । त्यस भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्ने हुन्छ । प्वाल पिसाब थैली र योनीमार्गको बीचमा परेको छ भने योनीमार्गबाट दिशा पिसाब चुहिन्छ, जसलाई फिस्टुला भनि विशेषज्ञहरुले परिभाषित गरेका छन् ।

महिलाहरुमा फिस्टुलाको समस्या हुने कारणहरु उल्लेखनीय छन् । ८ देखि १२ घण्टा प्रसब व्यथा लाग्नु र बच्चाको टाउको योनीमार्गमा धेरै बेरसम्म रहिरहनाले फिस्टुला हुन्छ । बच्चा जन्माउने ब्यथा लागेपछि महिलाले तत्काल आवश्यक स्वास्थ्य सहयोग प्राप्त गर्न नसक्दा वा उक्त सहयोगका लागि परिवारका सदस्यहरुले निर्णयमा ढिला गर्दा पनि फिस्टुला हुन सक्छ । गर्भवती महिलालाई फिस्टुला हुन नदिन परिवारको मुख्य भूमिका रहन्छ ।
गर्भवती भएको समयमा नियमित स्वास्थ्य परीक्षण र सहयोग पाउने अधिकारबाट महिला वञ्चित भई कम्तीमा ४ पटक स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच नगराउँदा, सानै उमेर अथवा शरीरिक परिपक्वता पूर्णरुपमा नभएको बेला बच्चा जन्माउँदा, परिवार नियोजनका साधनमा पहुँच र प्रयोग गर्नेबारे निर्णय लिन नसक्दा मुख्यतया महिलाहरु विभिन्न प्रकारका यौन हिंसाबाट पीडित हुँदा, पाठेघर खसेको महिलाको शल्यक्रिया राम्रोसँग नगर्दा, बालविवाह, बलात्कार र अन्य लैंगिक विभेदमा आधारित हिंसाका घटनाहरुमा आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवामा महिलाको पहुँच नहुँदा महिलाहरुमा फिस्टुला हुने सम्भावना अत्यधिक रहन्छ ।

यस्तै मुख्यतया महिलाहरुलाई हेर्ने दृष्टिकोण, उनको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण हुने वातावरण नहुनु, स्रोतमाथि पहुँच र नियन्त्रण नभएको स्थिति, प्रजनन् कार्यमा महत्वपूर्ण भूमिका खेल्ने महिला र पुरुष दुबैमा समानता र समान आदरपूर्ण व्यवहार नहुँदा फिस्टुलाको समस्या हुने कारण बन्दछ । यस्तै, महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य भई व्यक्तिगत तहदेखि नीतिगत तहसम्म महिलाको प्रजनन् अधिकार सुनिश्चित गराउँदा महिला प्रजनन् फिस्टुलाको समस्याबाट जोगिन सक्छन् ।

Exit mobile version