Home मुख्य समाचार आजबाट टाईफाईडविरुद्धको खोप अभियान सुरु मकवानपुरका एक लाख बढी बालबालिकालाई खोप

आजबाट टाईफाईडविरुद्धको खोप अभियान सुरु मकवानपुरका एक लाख बढी बालबालिकालाई खोप

हेटौंडा–८, हेटौंडा औद्योगिक क्षेत्रमा एक बालिकालाई खोप लगाइँदै । फाइल तस्वीर ।

हेटौंडाः आज शुक्रबारबाट देशभर १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाईफाईड रोगविरुद्धको खोप लगाइँदैछ । टाईफाईड खोप अभियानअन्तर्गत मकवानपुर जिल्लाका एक लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । जिल्लाको मनहरी गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले खोप अभियानको शुभारम्भ गर्नु हुनेछ ।

४ लाख ६ हजार १ सय ५३ जनसंख्या रहेको मकवानपुरका १ लाख ८ हजार ४ सय ८६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । खोप लगाउनका लागि विद्यालय तथा स्वास्थ्य चौकी गरी ६ सय ८ वटा खोपकेन्द्रमा तालिम प्राप्त ८ सय ७० खोप कार्यकर्ता र स्वयम्सेवक खटाइएको छ ।
हेटौंडा उपमहानगरपालिकामा १ सय ३५ वटा खोप केन्द्रमा ३ सय जना खोप कार्यकर्तालाई खटाइएको छ । साथै, २ सय ७० जना स्वयम्सेवकलाई पनि खोप केन्द्रमा परिचालन गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाको १ लाख ९५ हजार ९ सय ५१ जनसंख्यामध्ये ५० हजार १ सय ६३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

थाहा नगरपालिकाको ३९ हजार १ सय ६३ जनसंख्यामध्ये ८ हजार ६ सय १६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । नगरपालिकामा ६५ वटा खोप केन्द्रमा ६० जना खोप कार्यकर्ता र १ सय ३० जना स्वयम्सेवक तोकिएको छ । बागमती गाउँपालिकामा भने बैशाख ५ गतेदेखि मात्र खोप अभियान सञ्चालन गरिने बताइएको छ । बागमती गाउँपालिकाको ३० हजार ६ सय २५ जनसंख्यामध्ये ६ हजार ६ सय २८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । गाउँपालिकाको ५२ वटा खोप केन्द्रमा ६० जना खोप कार्यकर्ता र १ सय ४ जना स्वयम्सेवक खटाइनेछ ।

यस्तै, ४० हजार ६ सय ७१ जनसंख्या रहेको बकैया गाउँपालिकामा ८ हजार ९ सय ४८ जना बालबालिका खोप लक्षित रहेका छन् । गाउँपालिकाको ७६ वटा खोप केन्द्रमा ७६ जना खोप कार्यकर्ता र १ सय ५२ जना स्वयम्सेवक तोकिएका छन् । मनहरी गाउँपालिकामा ४७ हजार १ सय ४४ जनसंख्यामा १० हजार ३ सय ७२ जना बालबालिका खोप लक्षित रहेका छन् । गाउँपालिकाको ४२ वटा खोप केन्द्र्रमा ९० जना खोप कार्यकर्ता र ८४ जना स्वयम्सेवक तोकिएका छन् ।

२५ हजार ८ सय ७१ जनसंख्या रहेको राक्सिराङ गाउँपालिकामा ५ हजार ६ सय ९२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । ४५ वटा खोप केन्द्रमा ५७ जना खोप कार्यकर्ता र ९० जना स्वयमसेवक परिचालन गरिने भएको छ । यस्तै, २१ हजार ९ सय ९२ जनसंख्या रहेका कैलाश गाउँपालिकामा ४ हजार ८ सय ३८ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । ४९ वटा खोप केन्द्रमा ५५ जना खोप कार्यकर्ता र ९८ जना स्वयम्सेवक तोकिएका छन् ।

२१ हजार ६ सय २६ जनसंख्या रहेको भीमफेदी गाउँपालिकामा ४ हजार ७ सय ५८ जना बालबालिका खोप लक्षित रहेका छन् । २८ वटा खोप केन्द्रमा ५७ जना खोप कार्यकर्ता र ५६ जना स्वयमसेवक्लाई जिम्मेवारी दिइएको छ । २४ हजार २ सय ५२ जनसंख्या रहेको मकवानपुरगढी गाउँपालिकामा ५ हजार ३ सय ३९ जना बालबालिका खोप लक्षित रहेका छन् । ३३ वटा खोप केन्द्रमा ४३ जना खोप कार्यकर्ता र ६६ जना स्वयम्सेवक परिचालन गरिएको बताइएको छ । ईन्द्रसरोवर गाउँपालिकाको १३ हजार ७ सय ५८ जनसंख्यामध्ये ३ हजार ३ सय ७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । गाउँपालिकाको २७ वटा खोप केन्द्रमा २७ जना खोप कार्यकर्ता तोकिएको छ ।

Exit mobile version