Home मुख्य समाचार ४ वर्षमा ५ सय बढी बालबालिका हिंसापीडित

४ वर्षमा ५ सय बढी बालबालिका हिंसापीडित

सङ्केतिक तस्विर google..

हेटौंडाः पछिल्लो ४ वर्षमा मकवानपुरको विभिन्न पालिकामा ५ सयभन्दा बढी बालबालिका हिंसापीडित भएका छन् । आर्थिक वर्ष २०७३÷०७४ देखि गत आर्थिक वर्षसम्म जिल्लामा विभिन्न प्रकारका हिंसाबाट ५ सय २१ जना बालबालिका पीडित भएका घटना सिविन बाल हेल्पलाइनमा दर्ता भएका छन् ।
यस अविधिमा १ सय ८ जना बालबालिकाको बालविवाह भएको घटना दर्ता भएको थियो । बालविवाहको घटनाबाट ४३ जना बालिका र २० जना बालक पीडित भएको सिविन बाल हेलपलाइनको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा मकवानपुर जिल्लामा ३१ जना बालिकालाई जबरजस्ती करणी गरिएको र ४३ बालबालिकामाथि हिंसा भएको बाल हेल्पलाइनले जानकारी दिएको छ । २९ जना बालिका र १४ जना बालक हिंसापीडित रहेको सिविन बाल हेल्पलाइनको विरणमा उल्लेख छ ।

८५ जना बालबालिका श्रममा परेकामा २३ जना बालिका र ६२ जना बालक रहेका छन् । १ सय ११ जना अपहेलनामा परेका छन्, जसमा २२ जना बालिका र ८९ जना बालक रहेको बाल हेल्पलाइनको घटना दर्ता विरणमा उल्लेख छ । ४ वर्षको अवधिमा १ सय ४४ जना बालबालिका हराएको उजुरी परेकोमा ६१ जना बालिका र ८३ जना बालक हराएको पाइएको छ ।

बालबालिका हराउने अर्थात् घर छाड्ने प्रमुख कारणमा घरायसी कारणहरु रहेको सिविन बाल हेल्पलाइनले जानकारी दिएको छ । बुवाआमाबाट बालबालिकाको संरक्षणमा ध्यान नदिने र बुवाआमाले दोस्रो विवाह गर्ने कारण धेरैजसो बालबालिका घर छाडेर हिँड्ने गरेको पाइएको बताइएको छ । यसैगरी, बालबालिकाबीच प्रेम हुनु र घरमा थाहा नदिई केहि समय बेखबर हुनु, पारिवारिक हिंसा, साथीभाइको खराब संगतमा पर्नु, मेला चाडपर्व र आफन्तकोमा जाँदा अलपत्र परेर बेखर्ची हुनुका साथै परिवारको सम्पर्क नम्बर र ठेगाना बताउन नसक्दा बालबालिका हराउने तथा अलपत्रमा पर्ने गरेको सिविन बाल हेल्पलाइनको दावी छ ।

बालबालिका हराएपछि तुरुन्त कहाँ खबर गर्ने भन्नेसमेत अभिभावकलाई जानकारी नभएको हुनाले ढिलो खबर गर्दा हराएका बालबालिका भेट्न कठिनाई हुने हेल्पलाइनले जनाएको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत, परामर्श, संरक्षण तथा पुनस्थापनाका लागि बाल हेल्पलाइनको आपतकालीन फोन नम्बर १०९८ मा खबर गर्न हेल्पलाइनले अनुरोध गरेको छ ।

Exit mobile version