हेटौंडाः धरान–चतरा सडकखण्डअन्तर्गत हेटौंडा–१७, हटिया बाबुचोकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुनुका साथै मोटरसाइकलको पछि–पछि रहेको एम्बुलेन्सले घाइते यात्रुलाई ठक्कर दिएको छ ।

सोमबार दिउँसो २ बजेर ४० मिनेटको समयमा हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ६० प ५३९ नम्बरको मोटरसाइकल र फुर्केचौरतर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६३ प ७००६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको स्थानीय आलोक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय श्रेष्ठका अनुसार हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२ झ ५०५६ नम्बरको एम्बुलेन्सले मोटरसाइकलमा सवार महिला र ती महिलाकी छोरीलाई ठक्कर दिएको हो ।
मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाइते भएका आमा छोरीलाई एम्बुलेन्सले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । मोटरसाइकलमा चालक भने सामान्य घाइते भएका छन् । एम्बुलेन्स चालक फरार रहेको बताइएको छ ।