
हेटौंडाः आफ्नो क्षेत्राधिकारभित्र आवश्यकता र औचित्यका आधारमा सार्वजनिक बिदा दिन पाउने व्यवस्थाको स्थानीय सरकारले दुरुपयोग गरेका छन् । पालिकामा शेर्पा समुदायको उपस्थिति शून्य भए पनि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछारको अवसरमा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै ईन्द्रसरोवर गाउँपालिकाले ग्याल्पो ल्होछारको अवसरमा फागुन १९ र २० गते सार्वजनिक बिदा दिने जानकारी गराएको छ । शेर्पा समुदायले फागुन १९ गते ग्याल्पो ल्होछार मनाउँदैछन् । गाउँपालिकाले बुधबार जारी गरेको सूचनामा गाउँपालिकामा बसोबास गर्ने तामाङ समुदायले ग्याल्पो ल्होछार मनाउने उल्लेख गर्दै २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
ग्याल्पो ल्होछारको अवसरमा संघीय सरकारले नै फागुन १९ गते १ दिनका लागि बिदा दिने निर्णय गरिसकेको छ । सार्वजनिक बिदा १ दिन दिए हुने अवस्थामा गाउँपालिकाले ३ दिनसम्म बिदा दिने गरेको छ । यसअघि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले तामाङ समुदायको सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । स्थानीय सरकारको कामकारवाहीका विषयमा सर्वसाधारणमा व्यापक आलोचना कायमै रहँदा नागरिकको अपेक्षाअनुसार राम्रा काम गर्न पर्याप्त समय खर्चनुपर्ने पालिकाहरु मनलाग्दी बिदा दिन प्रेरित छन् ।