हेटौंडाः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाहरुका लागि समपुरक योजना अनुरुप ४ करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले प्रदेशका २५ वटा गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि बजेट उपलब्ध गराउन लागेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ पारित गरी कार्यविधि बनाएको छ । सबै मन्त्रालयमा खर्च एकरुपता होस र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि बनाइएको प्रवक्ता खनालले बताउनुभयो । प्रदेश पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेका कामलाई अख्तियारी दिने निर्णय गरिएको छ ।
