Home अन्तरवार्ता ‘पढाईको मात्र भार बोक्नुपरेको दिमागले थोरै भए पनि आराम पाउँछ’

‘पढाईको मात्र भार बोक्नुपरेको दिमागले थोरै भए पनि आराम पाउँछ’

घनश्याम ढकाल, संगीत शिक्षक, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल

विद्यालयमा पाठ्यक्रमका विषय बाहेक कला, संगीत, खेलकुद विषयका अतिरिक्त कक्षा तथा क्रियाकलापहरु गराउने क्रम बढ्दो छ । विशेषगरी निजी क्षेत्रका विद्यालयमा विद्यार्थीलाई आकर्षक अतिरिक्त क्रियाकलापमा सहभागी गराउने प्रयास भइरहेको छ । विद्यार्थीलाई रचनात्मक र बहुआयामिक बनाउन अतिरिक्त क्रियाकलाप उपयोगीसिद्ध छ । यसैसन्दर्भमा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका संगीत शिक्षक घनश्याम ढकालसँग समृद्ध समाज दैनिकका डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

समाजः संगीतप्रति विद्यार्थीको आकर्षण कस्तो पाउनु भएको छ ?
विद्यार्थीहरुले संगीतलाई एकदम राम्रो रुपमा लिन चाहनुहुन्छ ।

समाजः संगीत र शैक्षिक विषयवस्तु जोडेर सँगसँगै लैजान सकिन्छ ?
शिक्षा सँगसँगै संगीतलाई पनि लैजान सके सुनमा सुगन्ध थपेजस्तै हुन्छ । विद्यार्थीहरुले स्कूलमा ७/८ वटा विषयमात्र एकोहोरो पढ्नुपर्दा अलि गाह्रो हुन्छ । त्यसमा संगीतको पनि कक्षा भइदिए पढाईको मात्र भार बोक्नुपरेको दिमागले थोरै भए पनि आराम पाउँछ । साथै संगीतको ज्ञान भए भोलि विद्यार्थीलाई ऊर्जाशील बनाउन थप टेवा पुर्‍याउन सक्छ ।

समाजः संगीत विषय पढाइरहनुहुँदा के कस्तो अनुभव बटुल्नु भयो ?
मैले पहिलेदेखि नै संगीतलाई अपरिहार्य ठानेर संगीतसँगै अघि बढिरहँदा बालजागृति स्कूलमा एउटा संगीत प्रशिक्षकको रुपमा जोडिने मौका पनि पाएँ र निरन्तर प्रशिक्षण पनि दिइरहन पाउँदा निकै खुशी छु ।

समाजः अभिभावकहरुको चाहिँ प्रतिक्रया कस्तो पाउनुभएको छ ?
संगीतलाई सबैले राम्रोसँग बुझ्नुहुन्छ भन्ने छैन । जस्तो अवस्थामा पनि संगीतको महत्व हुन्छ । धेरैले बुझ्नु भएको छ, तर केहिकेहिबाट संगीतप्रति राम्रो धारणा नआइसकेको अवस्था पनि छ ।

समाजः विद्यालयमा संगीत प्रशिक्षक हुनुहुन्छ, त्यसको अलावा पनि संगीतको क्षेत्रमा कुनै अन्य कामहरु गरिरहनु भएको छ ?
पहिला थियो । एउटा ईन्स्टिच्युटमा संगीत प्रशिक्षण गराउँथे, तर अहिले कोरोनाको परिवेशले गर्दा त्यसलाई सञ्चालन गर्न सकेको छैन । चाँडै नै अतिरिक्त क्रियाकलापका लागि संगीतको छुट्टै कक्षा सञ्चालन गर्न गइरहेको छु ।

समाजः संगीतमै रहेर जीविकोपार्जन गर्नसक्ने स्थिति कस्तो देख्नुहुन्छ ?
पहिलाको भन्दा अहिलेको अवस्था धेरै नै राम्रो भएको मलाई लाग्छ । राष्ट्रियस्तरबाट प्रतिस्पर्धात्मक विभिन्नखाले गायन शो या भनौं रियालिटी कार्यक्रमहरु पनि आइरहेका छन् । यस्ता कार्यक्रमले संगीतको बारेमा कम बुभ्mनुभएकाहरुलाई संगीतको महत्व दर्शाउने काम गरेको छ । धेरै मानिसहरुले अहिले गीत–संगीतलाई सकारात्मकरुपमा लिइरहनु भएको छ भन्ने मलाई लाग्छ ।

समाजः संगीतमा विद्यार्थीलाई जोड्दै उनीहरुको पाठ्यपुस्तकको कुराहरुमा पनि रुचि राख्नसक्ने बनाउन सकिन्छ कि सकिँदैन ?
संगीतको माध्यमबाट एउटा छुट्टै लेसनलाई चाहिँ संगीतको रिदम मेलोडीमा राखेर पनि अझ आकर्षक बनाउन सकिन्छ ।

समाजः संगीतमा लागिपर्ने व्यक्तित्वहरु मिलेर विद्यालयहरुमा संगीत आवश्यक छ भनेर घच्घच्याउने खालको अभियानमा लाग्ने केहि योजना छ ?
त्यो हामीले गर्नैपर्ने हो । यो एकदमै खड्किएको अवस्था छ । त्यसैले हामीले सोच राखेका छौं । सम्बन्धित निकायमा त्यो कुरा राख्न हामी अग्रसर हुनेछौं ।

समाजः संगीत क्षेत्रबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?
के भएर सन्तुष्ट हुने र के नभएमा सन्तुष्ट नहुने भन्ने यो अलि गाह्रो कुरा हो भन्नलाई । तर सरसर्ति हेर्दा योभन्दा बाहेकमा लागेको भए सायद अझ प्रगति केहि गर्न सकिन्थ्यो कि भन्ने पनि लाग्छ । एक मनले फेरि संगीतजस्तो पवित्र महासागरमा छु जस्तो पनि लाग्छ ।

समाजः संगीतबाटै अगाडि बढ्नुपर्ने, यसको छुट्टै कक्षाको व्यवस्था गर्नुपर्ने जस्तो महसुस भएको छैन ?
अतिरिक्त क्रियाकलापहरु त हरेक विद्यालयले गरी नै रहेको हुन्छ, आ–आफ्नो तौर तरिकाले । सरकारीस्तरबाटै संगीतलाई विद्यालयहरुले अनिवार्य गराउन सक्ने वातावरण बन्दियो भने धेरै राम्रो हुने मेरो ठम्याई छ ।

Exit mobile version