Home शिक्षा पढ्दै–कमाउँदै कार्यक्रम सुरु

पढ्दै–कमाउँदै कार्यक्रम सुरु

हेटौंडाः सार्क एजुकेशन फाउन्डेसनको आयोजनामा नारायणी कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई पढ्दै–कमाउँदै कार्यक्रम सुरु गरेको छ । योगी नवराज छामले विद्यार्थीबीच कसरी पढ्दै कमाउन सकिन्छ भन्ने कुराका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सार्क एजुकेशन फाउन्डेसनका अधिकृत लक्ष्मण बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सभामुख श्रेष्ठले वर्तमानको साझेदार युवा भएकाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । मानिस स्वयम् परिवर्तन हुन सके मात्र समाज परिवर्तन हुने श्रेष्ठको भनाइ रहेको छ । व्यवहारिक जीवनमा कार्यान्वयन भई क्षमता विकासमा यस कार्यक्रमले सहयोग पुग्ने दावी गर्नुभयो । सल्लाहले हल्ला हुन्छ तर काम हुँदैन जसकारण कसैको इच्छाविपरीत भने कुनै कार्य थालनी गर्न नहुने उल्लेख गर्नुभयो । मानिसले मानिसलाई बुझाउन सके गरिबी निवारण तथा चेतनाको दियो बाल्ने कार्यमा अहम् भूमिका खेलिनेमा विश्वस्त रहेको बताउनुभयो ।


यसैगरी नारायणी कलेज तथा तुलसीमेहर मेमोरियल स्कूलका प्रधानाध्यापक रघुनाथ खराल भन्नुहुन्छ– ‘स्नातक तह चार वर्षको हुन्छ, पढाइमा लगानी गर्न अभिभावकले मात्र सकिँदैन । त्यसकारण पढ्दै–कमाउँदैमा विद्यार्थी स्वयम् जिम्मेवार बने आर्थिक भार अभिभावकलाई नपर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो ।’

बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु भएको यस कार्यक्रम ७७ वटै जिल्लासम्म पुर्‍याउने उहाँले दावी गर्नुभएको छ । सार्क एजुकेसन फाउन्डेसन कार्यक्रमका संयोजक किसन बास्तोलाले अहिलेको शिक्षा नीति बलुवाबाट सुन चाल्न खोजिएको बताउनुभयो । कार्यक्रमका बारेमा जानकारी दिनुहुँदै व्यक्तित्व विकास तथा कुशल र दक्ष जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग हुने उहाँको भनाइ छ । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, सदस्य केशव मुडभरी, फाउन्डेसनका प्रतिनिधि तथा अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version