Home मुख्य समाचार विरोधका बीच शहीद बासुदेव सभागृह भत्काएर भ्यु टावर

विरोधका बीच शहीद बासुदेव सभागृह भत्काएर भ्यु टावर

हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा १५ वर्षअघि निर्माण थालनी गरेर पूरा नहुँदै शहीद बासुदेव सभागृह भत्काएर भ्यु टावर बनाइने भएको छ । राज्य कोषको करोडौं रुपैयाँ खर्चेर प्रस्तावित संरचनालाई पूर्णता नदिई हेटौंडा उपमहानगरपालिकाले व्यापारिक भवन निर्माण गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिकाले बासुदेव सभागृह भत्काएर दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुईवटा भ¥याङसहित सबैभन्दा माथि भ्यूटावर रहनेगरी १३ तले व्यापारिक भवन निर्माण गर्न लागेको छ ।

निर्माणाधिन अवस्थाको भवनको नाम शहीदको सम्मानमा बासुदेव सभागृह राखेर निर्माणको कार्य पूरा नै नगरी भत्काउने स्थानीय सरकारको निर्णयको विरोध भइरहेको छ । सर्वसाधारणको विरोधकै बीच हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४, हुप्रचौरमा १३ तलाको बहुउद्देशीय भवन निर्माण गर्नका लागि सोमबार निर्माण कम्पनिसँग सम्झौता गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र लामा/रसुवा/बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँका बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा काम गर्ने गरी ठेक्का भरेकाले लामा/रसुवा/बानियाँ जेभीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय भवन निर्माणका लागि भ्याट र कन्टेन्जेन्सीसहित कुल ९६ करोड ३५ लाख ४४ हजार ७ सय १५ रुपैयाँ लागत निस्किएको भएपनि त्यसबाहेकको रकम ७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरी ठेक्का आह्वान गरिएको उहाँले बताउनुभयो । आह्वान भएको कुल लागतमा ३८ दशमलव २८ प्रतिशत घटेर लामा/रसुवा/बानियाँ जेभीले ठेक्का प्राप्त गरेको पनि चौलागाईंले जानकारी दिनुभयो । १३ तले व्यापारिक भवनको सबैभन्दा माथि रहने भ्यू–टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहजरुपमा हेर्न सकिने जनाइएको छ ।

तीन वर्षमा काम सक्नेगरी ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै काम सम्पन्न गर्ने लामा/रसुवा/बानियाँ जेभीका सञ्चालक ऋषि बानियाँले बताउनुभयो ।
हेटौंडामा सबैभन्दा धेरै रकम लगानीमा हेटौंडाको बसपार्कमा बस टर्मिनल, थानाभ¥याङमा तरकारी थोक बजार र सोमबार सम्झौता गरिएको बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताउनुभएको छ । उपमहानगरपालिकाको ठूलो लगानी भएका तीनवटा संरचनामध्ये दुईवटाको निर्माण कार्य भइरेको मेयर महतले जानकारी दिनुभयो । तरकारी थोकबजार प्रदेश सरकार र उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो भने अरु दुईवटा संरचना भने उपमहानगरपालिकाको आफ्नै बजेटमा निर्माण हुने उहाँले बताउनुभयो ।

Exit mobile version