हेटौंडाः हेटौंडा–१७ हटियामा आज बिहीबारबाट स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदैछ । हटिया स्पोर्टस् एकेडेमीको आयोजनामा मकवानपुर जिल्लाभित्रको टिम तथा खेलाडी सहभागी हुन पाउने गरी पुरुष भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।
भलिबल खेलको राष्ट्रिय प्रशिक्षक श्रेष्ठको बि.सं. २०७२ सालको महाभूकम्पमा परी निधन भएको थियो । उहाँकै सम्झनामा हटिया स्पोर्टस एकेडेमीले हरेक वर्ष आयोजना गरिरहेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको छैठौं संस्करण आजबाट सुरु हुन लागेको हो । एकेडेमीले बुधबार खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ । कुल १३ टिमको सहभागितामा आयोजना हुन लागेको प्रतियोगितामा उपाधी विजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक कमल बिडारीले जानकारी दिनुभयो ।
लिगकम नकआउटको आधारमा आयोजना हुने प्रतियोगितामा आयोजकसहित हेटौंडा उपमहानगरपालिकाभित्रका ५ टिम, थाहा नगरपालिकाबाट ५ टिम, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँलिकाबाट १/१ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो चरणमा १३ टिमलाई ४ समुहमा बिभाजन गरिएको छ । जसमा समुह क मा ४ टिम रहेको छ भने समुह ख, ग र घ मा ३/३ टिम रहेका छन् । पहिलो चरण अर्थात लिग चरणबाट प्रत्येक समुहबाट विजेता र उपविजेता गरी ८ टिम क्वाटरफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टार स्पोर्टस् क्लब र आग्रा स्पोर्टस् क्लब खेल्ने भएका छन् । यी दुबै क्लब थाहा नगरपालिकाका हुन् । उद्घाटन खेल आज बिहीबार बिहान ८ बजेबाट नै सुरु हुने भएपनि प्रतियोगिताको उद्घाटन कार्यक्रम भने दिउँसो मात्र हुने हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छबि सुबेदीले जानकारी दिनुभयो । थोरै समयमा प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएकाले उद्घाटन कार्यक्रमभन्दा अगाडिबाट नै खेलहरु सुरु गर्नुपरेको उहाँले बताउनुभयो । उहाँकाअनुसार कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गर्नुहुनेछ ।
लिग चरणका १५ खेल, क्वाटरफाइनलका ४ खेल, सेमिफाइनलका २ खेल र फाइनल खेलसहित २२ खेल हुने प्रतियोगिताको फाइनल २७ गते हुने जनाइएको छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने अन्य बिधागत उत्कृष्ट खेलाडीहरुले जनही २ हजार रुपैयाँ तथा ट्रफि प्राप्त गर्ने अध्यक्ष सुबेदीले बताउनुभयो ।
