Home मुख्य समाचार जनमुखी सोच राखेर प्रहरीले सेवा दिनुपर्छः मुख्यमन्त्री शाक्य

जनमुखी सोच राखेर प्रहरीले सेवा दिनुपर्छः मुख्यमन्त्री शाक्य


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६६ प्रहरी दिवसको अवसरमा प्रहरीले जनमूखी सोच राखेर सेवा गर्नुपर्ने बताउनुभएको छ । प्रहरी स्थापना भएको ६६ वर्षसम्म धेरै परिवर्तन भएकोले प्रहरीलाई थप चुनौतीको सामना गर्नुपरेको उहाँले बताउनुभयो । समाज बदलिएको बताउँदै मुख्यमन्त्री शाक्यले बागमती प्रदेश प्रहरीले समाजमा शान्ति सुरक्षा, विपद, अपराध नियन्त्रण लगायतमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाक्यले प्रदेश प्रहरीलाई साधन स्रोतयुक्त बनाई जटिल अपराध नियन्त्रण गर्न पनि अब्बल बन्नुपर्ने बताउनुभयो । प्रहरीलाई स्रोत साधनयुक्त बनाई प्रविधि मैत्री बनाउन बागमती प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै बागमती प्रदेश प्रहरीले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न अंगपंक्तिमा खटेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्रहरी संगठनलाई स्रोतसाधन युक्त बनाएर सोच परिवर्तन गर्न नसकेभने प्रहरी सफल हुन नसक्ने भन्नुभयो । मुख्यमन्त्री शाक्यले प्रहरी असल भावनाले अघि बढेकोले नागरिकमा राम्रो छाप परेको बताउनुभयो । देशमा सुख शान्ति होस् भन्दै उहाँले विभेद र हिंसारहित समाज बनाउन प्रहरी अघि हुनुपर्ने बताउनुभयो । पछिल्लो केही वर्षमा बागमती प्रदेशमा हिंसा, आत्महत्या, दुर्वेशन जस्ता अपराधको घटनाहरु बढिरहेको भन्दै प्रहरीले यसलाई न्यूनिकरण गर्न आवश्यक रणनीति तय गर्नुपर्ने बताउनुभयो । प्रदेशमा लोकतान्त्रिक संस्कार बनाउन प्रहरीले पनि राजनीतिक दलहरुलाई सुझाव दिनुपर्ने मुख्यमन्त्र शाक्यको भनाई थियो ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजयक्रान्ती शाक्यले छिट्टै प्रहरीको समायोजन हुनुपर्ने बताउनुभयो । बागमती प्रदेश मातहतमा प्रदेश प्रहरी कार्यालय आउनुपर्ने उहाँले धारणा राख्नुभयो । केन्द्र सरकारले प्रहरी समायोजन गर्न ढिलाई गर्दा बागमती प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएर पनि कार्यान्वयनमा लैजान नसकेको बताउनुभयो । यद्यपि प्रदेश प्रहरीलाई बामगती प्रदेश सरकारले भवन निर्माण, सवारी सधान लगायत साधन स्रोत र प्रविधिमैत्री बनाउन सहयोग गर्दै आएको बताउनुभयो ।

६६ औं प्रहरी दिवसको अवसरमा विर अमर परिवारका सदस्यहरु २ जनालाई सम्मानीत गरिएको थियो । बागमती प्रदेशमा १९१ प्रहरीले विरगति प्राप्ती गरेका छन् । बामगती प्रदेश प्रहरी प्रमुख प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले प्रहरीले आफ्नो ऐन अनुसार नै प्रहरी संगठनलाई परिचालित गरेको बताउनुभयो । उहाँले कानुनभन्दा माथि कोही नभएकोले प्रहरी कसैको नभएको तर सबैको प्रहरी भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भूजेल लगायत तीनै सुरक्षा निकायको उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

Exit mobile version