Home मुख्य समाचार एमालेभित्र गणतन्त्र सिध्याउन खोज्नेको जमात छः पाख्रिन

एमालेभित्र गणतन्त्र सिध्याउन खोज्नेको जमात छः पाख्रिन

नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका ६ नम्बर वडामा भएकोे कार्यक्रममा सहभागिहरु ।

हेटौंडाः नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडास्तरीय जबस भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । ६ नम्बर वडास्थित मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारका निम्ति लड्ने पार्टी माओवादीमात्र भएको बताउनुभयो ।

‘एमालेसँगको एकता त्यस वर्गको अधिकारलाई संस्थागत गर्नको निमित्त थियो । तर एमाले मुख्य नेतृत्व कम्युनिस्ट होइनरहेछ’, पाख्रिनले भन्नुभयो– ‘नेकपा एमालेसँगको एकता गलत थिएन । एमाले नेतृत्व गलत हुँदा एकता सफल भएन ।’ एमालेभित्र जनताको लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम गराएर सिध्याउन खोज्ने जमात रहेको दाबी गर्दै पाख्रिनले व्यक्तिलाई धुरी बनाउनेहरु, जयजयकार गर्नेहरु, आई लभ यु बा भन्नेहरुको जमात कम्युनिष्ट नभएको बताउनुभयो । त्यस्ता पात्रहरुबाट देश विकास र समृद्धि असम्भव रहेको उहाँको भनाई छ ।

समाजवादउन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत र समृद्ध गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । माओवादी विचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताउनुभयो ।

भेलाले जीवन मोक्तान अध्यक्ष रहनेगरी २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । कमिटीको उपाध्यक्षमा रामबहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देवेन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्मा रुछाल मगर, सदस्यहरुमा डम्बरबहादुर घले, शहदेव कार्की, प्रशान्त वाइवालगायत रहेका छन् । वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटी इन्चार्ज बालकुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउँपालिका कमिटी अध्यक्ष मिलन तामाङलगायतको आतिथ्यता थियो ।

Exit mobile version