Home मुख्य समाचार मकवानपुरमा दर्ता नभएको क्रसर बन्द हुने

मकवानपुरमा दर्ता नभएको क्रसर बन्द हुने

तस्बिरः गुगल

हेटौंडाः नदीजन्य तथा खानीजन्य जिल्ला अनुगमन एवम् व्यवस्थापन समिति मकवानपुरले जिल्लामा दर्ताबिना सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले अनुगमन उपसिमितिको प्रतिवेदनका आधारमा जिल्लामा दर्ता नगरी सञ्चालित त्यस्ता उद्योगहरु बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

अनुगमन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले त्यस्ता क्रसर तथा बालुवा उद्योगहरु स्थानीय प्रहरी-प्रशासनको सहयोगमा तत्काल बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरु बिना दर्ता सञ्चालन भएको, राजस्व नबुझाएको र सम्बन्धित स्थानमा सञ्चालन नभएको भए अनुगमन तथा आवश्यक छानविन गरी तत्काल बन्द गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

बैठकले क्रसर तथा बालुवा उद्योगहरुको स्टक प्रमाणित नभएसम्मका लागि ढुंगा, गिट्टी, बालुवा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । कतिपय स्थानीय तहमा सञ्चालित क्रसर उद्योगहरु स्टक प्रमाणित गर्न नआएका कारण त्यस्ता उद्योगहरुको हकमा स्टक प्रमाणित नभएसम्म बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।

यस्तै, स्टक प्रमाणित उपसमितिलाई स्टक प्रमाणित प्रक्रियाका विषयमा यथासक्य छिटो विश्लेषण गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version