Home मुख्य समाचार एमसीसीको दिने पैसा नेपालीबाटै उठाउन सकिन्छः सांसद पुलामी

एमसीसीको दिने पैसा नेपालीबाटै उठाउन सकिन्छः सांसद पुलामी

नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी

हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले एमसीसी राष्ट्रिय हितविपरित भएको बताउनुभएको छ । एमसीसी पारित गर्दा प्राप्त हुने रकमले देशमा आमूल परिवर्तन हुने भए उक्त रकम नेपालीहरुबाटै संकलन गर्न सकिने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र, हेटौंडा–४ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुलामीले एमसीसीमार्फत् आउने भनिएको ५५ अर्ब रुपैयाँ ४ करोड नेपालीलाई भाग लगाउने हो भने एकजनाको भागमा एक हजार ८ सयमात्र पर्ने बताउनुभयो । नेपाल सरकारले खाता खोलेर रकम उपलब्ध गराउन आह्वान गरेको खण्डमा नेपालीहरुले उक्त रकम स्वतःस्फूर्त जम्मा गर्ने दाबी पुलामीले गर्नुभयो ।
नेपाली जनता राष्ट्रहितको लागि प्रतिबद्ध रहेको र जनतामा राष्ट्रिय भावना रहेको बताउँदै पुलामीले जनभावना विपरित गएर एमसीसी कुनैपनि हालतमा पास गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सल्लाहकार ऋषिराम पोखरेलले माआवादीले नै राष्ट्रियता जोगाउने स्पष्ट पार्नुभयो । उहाँले हालसम्म भएका राष्ट्रघाति सन्धिहरुबाट पनि अन्य दलको धारणा बुझ्न सकिने बताउनुभयो ।

प्रमुख अतिथि पुलामी र नेकपा माओवादी हेटौंडा नगर इन्चार्ज विवेक राईले संयुक्तरुपमा पार्टीको ब्यानर खोलेर पार्टी कार्यालय उद्घाटन गर्नुभएको थियो । माओवादीका नेता हरिप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा दीर्घनारायण भट्टराई, प्रदेश कमिटी सल्लाहकार कौशल पाण्डे, महिला नेत्री नमुना पाण्डेलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्यहरु कमान सिंह पाख्रिन, नगर अध्यक्ष तीर्थबहादुर थापा, जिल्ला सदस्य जंगबहादुर विक, रिनेश श्रेष्ठ, ४ नम्बर वडा इन्चार्ज लवराज ठकुरी, मनकादेवी थापा, शान्ति श्रेष्ठ, अञ्जली थापालागायतको उपस्थिति रहेको थियो ।

Exit mobile version