Home मुख्य समाचार नेकपा समाजवादी बागमती प्रदेश संसदीय दलको जिम्मेवारी तोकियो, मुनु सिग्देल प्रमुख सचेतक

नेकपा समाजवादी बागमती प्रदेश संसदीय दलको जिम्मेवारी तोकियो, मुनु सिग्देल प्रमुख सचेतक

हेटौंडाः नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको जिम्मेवारी तोकिएको छ । सोमबार बसेको संसदीय दलको बैठकले मकवानपुरकी प्रदेशसभा सदस्य मुनु सिग्देल संसदीय दलको प्रमुख सचेतक बन्नुभएको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यालयमा बसेकोे दलको बैठकले उपनेतामा कृष्ण खनाललाई चयन गरेको छ । संसदीय दलको सचेतकमा बसुन्धरा हुमागाईंलाई चयन गरिएको हो । यसअघि आइतबार बसेको दलको बैठकले राजेन्द्र पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको सरकारलाई विकास निर्माणको नयाँ कार्यक्रमहरु स्वीकृत नगर्न, अबण्डामा राखिएको रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्ने भएको छ । प्रदेशमा गठबन्धनको सरकार बनाउन कांग्रेस र माओवादीसँग समन्वय गर्ने जिम्मा दलको नेता राजेन्द्र पाण्डेलाई दिएको छ । ३ दलको सरकार निर्माणपश्चात् सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न समाजवादीका सांसदहरु माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली, बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिएको प्रमुख सचेतक सिग्दलले जानकारी दिनुभयो ।

समाजवादीका नेता पाण्डे प्रदेशको मुख्यमन्त्री बन्न कसरत गरिरहनुभएको छ । यद्यपि नेता पाण्डेले प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना कम बन्दै गएको छ । बागमती प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस बागमती संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ अघि बढ्नुभएको छ । योसँगै गठबन्धनको सरकार प्रदेशमा सक्रिय भएर एक हुनुपर्नेमा समन्वयको अभाव भइरहेको छ ।

कांग्रेसको सूचना नआउँदा सोमबार दिउँसो २ बजेलाई बोलाइएको संसदीय दलको बैठक स्थगित भएको छ । मुख्यमन्त्रीमा बानियाँ आफू हुनुपर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवासँग भेटघाटमै हुनुहुन्छ । यता गठबन्धनको माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पनि सरकार छिट्टै परिवर्तन हुने बताउनुभएको छ । केही प्राविधिक कारण ढिलो भएको भन्दै दलहरु यसको तयारीमा अघि बढिसकेको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version