Home मुख्य समाचार मन्त्रिपरिषद् विस्तार भएसँँगै काम गर्न सहज हुने

मन्त्रिपरिषद् विस्तार भएसँँगै काम गर्न सहज हुने

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशले १३ जिल्लाको काम गर्न नसक्दा मन्त्रिपरिषद् विस्तार गरेको जनाएको छ । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भाद्र २ गतेबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि ३ जनाको मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । तीमध्ये एक मन्त्रीले केही दिनमै मन्त्रीबाट राजनीमा दिएका थिए । २ जना मन्त्रीले सिंगो प्रदेशको १३ जिल्लाको काम गर्न असहज भएसगै मन्त्रिपरिषद् विस्तार गरेको मुख्यमन्त्री शाक्यको भनाई छ ।

मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तारसँँगै कामको बाँडफाँड भइसकेकाले १३ जिल्लाको काम गर्न सहज हुने बताउनुभयो । उहाँले आफू सरकारमा रहुन्जेल जनमुखी कार्य गर्ने बताउनुभएको छ । इमान्दारिताका साथ प्रदेशमा कामहरु अघि बढाउने उहाँले बताउनुयभो ।

यसअघि एमाले विभाजन भएसँगै दल रोज्न भाद्र २२ गतेसम्म निर्वाचन आयोगले समय दिएकाले मन्त्रिपरिषद् विस्तार गरिएको थिएन । बागमती प्रदेशका एमालेका १३ सांसदले दल परित्याग गर्दे नेकपा एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परिसकेको छ । अल्पमतमा सरकार रहँदा पनि किन ठूलो मन्त्रिपरिषद् विस्तार गरियो भन्ने प्रश्नमा शाक्यले भन्नुभयो, ‘२ जना मन्त्रीले सरकारको काम गर्न असहज भयो । चालु आर्थिक वर्षको विकासका कामहरु अघि बढाउनसमेत जनशक्ति नहुँदा मन्त्रिपरिषद् विस्तार भएको हो ।

बागमती प्रदेशको अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् मुख्यमन्त्री शाक्यले बनाउनुभएको हो । यसअघि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले ७ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियो । यस्तै, दोस्रो पटक ८ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियो । तर अहिले मुख्यमन्त्री शाक्यले १२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । उहाँले सामाजिक विकास मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाउनुभएको हो ।

नेकपा एमालेको माधव नेपाल समूहमा रहेर पनि समाजवादी नरोजेका ९ जनामध्ये ३ जना मन्त्री भएका छन् । यस्तै केपी ओली पक्षका ७ जना मन्त्री-राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री शाक्यले आफूले एमाले विभाजन भएसँगै विश्वासको मत लिने बताउनुभएको छ । उहाँले विश्वासको मतको सामना गर्ने भन्दै हालसम्म अविश्वासको प्रस्ताव नआएको भन्दै अविश्वासको प्रस्ताव आए भने पनि त्यसको सामना गर्न तयार रहेको बताउनुभयो । आफ्नो सरकार अल्पमतमा परेपनि अन्य दलहरुसँग सहकार्य भइरहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । बागमती प्रदेशको १०९ सांसदमध्ये ४३ एमाले सांसद छन् ।

Exit mobile version