Home खेलकुद प्रतियोगिताको क्यालेन्डर नहुँदा बक्सिङका खेलाडी विस्थापित हुँदै

प्रतियोगिताको क्यालेन्डर नहुँदा बक्सिङका खेलाडी विस्थापित हुँदै

हेटौंडाः कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण हाल नेपालमा खेल क्षेत्रहरु प्रभावित बनेका छन् । केही खेलका प्रतियोगिताहरु गर्ने तयारीका साथ अगाडि बढिरहे पनि अधिकांश खेलका प्रतियोगिताको विषयमा अझै अन्यौलता कायम नै छ । जसमध्ये बक्सिङ खेल पनि रहेको छ ।

कोरोना संक्रमणका कारण लामो समयसम्म बक्सिङ खेलको प्रतियोगिता आयोजना नहुँदा मकवानपुरका खेलाडीहरु विस्थापित हुन थालेका छन् । कोरोना संक्रमण फैलिनुभन्दा अगाडिदेखि नै बक्सिङ संघले राष्ट्रियस्तरमा वार्षिक प्रतियोगिताको क्यालेन्डर निर्माण नगर्नाले बक्सिङ खेलाडीहरु विस्थापित बन्दै गएका मकवानपुरका बक्सिङ प्रशिक्षक लाला पौडेलले बताउनुभएको छ ।

वार्षिक सेड्युल नभएकै कारण बक्सिङको प्रतियोगिता कुनबेला आयोजना हुन्छ भनेर पूर्वनिर्धारित जानकारी नहुँदा सोका लागि तयारी गर्न असहज हुँदै आएको उहाँको भनाई रहेको छ । कुनै प्रतियोगिता भइहाल्यो भने पनि प्रतियोगिताभन्दा २ दिन अगाडि जानकारी आउने भएकाले खेलाडीहरुले आवश्यक तयारी गर्न नपाउने कारण प्रतियोगितामा सफलता हासिल गर्न नसक्दा पनि खेलाडीहरुले बक्सिङ छाड्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अधिकांश खेलाडीहरु लामो समयसम्म प्रशिक्षण गर्दा पनि प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि खेलक्षेत्रबाट नै टाढा हुँदै गएको प्रशिक्षक पौडेलले बताउनुभयो । कोरोना संक्रमणभन्दा अगाडि बक्सिङका केही राम्रा खेलाडीहरु उत्पादन भएर मकवानपुरमा बक्सिङले गति लिएको भएपनि पछिल्लो समय कोरोनाका कारण खेलाडीहरुले बक्सिङ छाडेको उहाँको भनाई छ ।

कोरोनाका कारण खेलाडीहरुको पारिवारिक आर्थिक समस्या बढ्दै गएको तथा खेलाडीको उमेर बढ्दै जाँदा शैक्षिक कारणले समेत उनीहरुले बक्सिङ छाडिरहेको उहाँले जानकारी दिनुभयो । नियमितरुपमा प्रतियोगिताहरु आयोजना हुने हो भने खेलाडीहरुलाई खेल क्षेत्रमा लागिरहन प्रोत्साहन मिल्ने पनि प्रशिक्षक पौडेलले बताउनुभयो ।

हाल कुनै प्रतियोगिताको सेड्युल नभएको अवस्थामा पनि २/४ जना पुराना खेलाडीहरु भने निरन्तररुपमा प्रशिक्षण गरिरहेका छन् । हेटौंडामा कोरोनाका कारण रोकिएको बक्सिङ प्रशिक्षण पछिल्लो २ महिनादेखि सिमित खेलाडीहरुको उपस्थितिमा भइरहेको छ । प्रशिक्षक पौडेलका अनुसार हाल प्रशिक्षणमा २०/२२ जना खेलाडीहरु उपस्थित हुने गरेका छन् । जसमा अधिकांश नयाँ खेलाडी नै रहेका छन् । हाल ६ जना महिला र १४ जना पुरुष नयाँ खेलाडी प्रशिक्षणमा आउने गरेका छन् । प्रशिक्षणमा आएका नयाँ खेलाडीहरु आफ्नो खुसीले जोश र जाँगरका साथ प्रशिक्षणका साथ आइरहेकाले प्रशिक्षण पूरा भएपश्चात् उनीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाए भने उनीहरुलाई बक्सिङमा निरन्तरता दिलाउन सहज हुने उहाँले बताउनुभयो ।

प्रशिक्षणमा आउने खेलाडीहरुसँग मासिक ५ सय रुपैयाँ शुल्क लिइने भएपनि खेलाडीहरु आफैंले मासिक २ हजार ५ सय रुपैयाँ गाडी भाडा खर्च गरेर नियमितरुपमा आउने गरेको भन्दै प्रशिक्षक पौडेलले खुसी व्यक्त गर्नुभयो । ‘अहिले ४ जना महिला खेलाडीहरु हेटौंडा–१४ नयाँबस्तीदेखि दैनिक १ सय रुपैया“ अटोभाडा तिरेर प्रशिक्षण लिन आउँदा मलाई खुसी लागेको छ’, उहाँले भन्नुभयो, ‘हामीले त महिनाको ५ सय रुपैयाँ लिन्छौं, तर उनीहरु आफै महिनाको २५ सय तिरेर आउँछन् भने उनीहरुमा बक्सिङ खेलप्रति कत्तिको रुचि छ, त्यो हामीले सहजै बुझ्न सक्छौं ।’

खेलाडीहरुलाई खेलमा निरन्तरता दिलाउन प्रशिक्षण दिएरमात्र सम्भव नभएको उहाँको भनाई छ । खेलाडीहरुलाई खेल जीवनसँगै स्थापित गर्न तथा जीविकोपार्जनको माध्यम प्रदान गरी भविष्यको विषयमा सुनिश्चितता प्रदान गर्न सकियो भने उनीहरुले खेल क्षेत्रलाई निरन्तरता दिने पौडेलले बताउनुभयो । यसका लागि हेटौैडाका खेलाडीहरुलाई यहीँ भएका उद्योग कलकारखानाहरुले रोजगारी प्रदान गरी कामसँगै खेल्ने समयसमेत उपलब्ध गराउन पर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । खेलाडीहरुलाई खेल क्षेत्रमा लागिरहने बनाउनका लागि पनि मकवानपुर जिल्ला बक्सिङ संघसहितले आवश्यक प्रशिक्षण सामग्रीहरुको व्यवस्था गरी खेलाडीहरुलाई उत्कृष्टरुपमा प्रशिक्षण प्रदान गरिएको पनि प्रशिक्षक पौडेलले दाबी गर्नुभयो ।

Exit mobile version